अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ ४ गते
सहयात्रा टिभी
काठमाण्डौं । असोज–२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा सिफारिस नवीन घिमिरेको सुनुवाइ असोज ४ गते हुने भएको छ। संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्दै सुनुवाइका लागि पठाएको थियो।
सुनुवाइ समितिले दश दिनको समय राखेर उजुरी आह्वान गरेको थियो। तर उनकाविरूद्ध कुनै उजुरी नपरेको संघीय संसद सचिवालयले जनाएको छ।
२०७१ सालमा उनी अख्तियारको आयुक्त बनेका थिए। त्यतिबेला उनी सेतो सुट लगाएर सुनुवाइका लागि पुगेका थिए। सुनुवाइका क्रममा उनले ‘अख्तियार गएपछि दाग लाग्न नदिने’ बताएका थिए। अख्तियारमा त्यतिबेला एकसाथ पाँच आयुक्त सिफारिस भएका थिए।
सुनुवाइबाट स्वीकृत भए घिमिरे २ वर्षका लागि अख्तियार प्रमुख हुनेछन्।