‘जय भोले’को फस्टलुक सार्वजनिक, फूलपातिमा रिलिज हुने घोषणा
सहयात्रा टिभी
काठमाण्डौं । असोज–९, चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गरिएसँगै असोज ३० अर्थात फुलपातिको दिनबाट फिल्म रिलिज हुने घोषणा समेत भएको हो ।
अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।
यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने संभावना प्रवल थियो । तर, दुबै चलचित्रका निर्माताको लामो समयको छलफल पश्चात भिडन्त टरेको हो । चलचित्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ भने चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ ।