सबैको विश्वास गर्ने डा.साबको बानि खराव छ : डा.भोला रिजालकी श्रीमती
काठमाण्डौं । असोज–१६, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालकी श्रीमतीले डा.भोला रिजालको एउटा मात्र बानि खराब भएको बताउनु भएको छ । आफुहरुले विश्वास नगर्नु मानिस ठिक छैन भनिरहँदा पनि डा.साबले हरेक कुरामा उनीहरुकै विश्वास गर्ने र धोका पाउने गरेको उहाँकी श्रीमती सरला रिजालले बताउनु भएको हो ।
डा.साबले भने सरलाजीको आजसम्म कुनै बानि नराम्रो नभएको बताउनु भएको छ । विवाह भएको ५६ वर्ष वितिसक्दा पनि आजसम्म उहाँहरुको दामपत्य जीवनमा कहिलै मनमुटाव नभएको, रिसारिस, झैझगडा केहि पनि नभएको उहाँहरु दुवैको भनाइछ । ओम अस्पतालको स्थापना गर्ने र नेपालमै पहिलो पटक टेष्ट् ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्राउने डा. रिजाल नेपालका एक वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । डा.साबको संगीत र खेल क्षेत्रमा पनि उतिकै झुकाव रहेको देखिन्छ । उहाँले हालसम्म झन्डै दुई सय जति गीत रेकर्ड गरिसक्नु भएको छ । चिकित्सा पेसा र संगीत दुवैलाई साथै लिएर अघि बढिरहनु भएका डा. साबलाई यस विषयमा सोध्दा उहाँले आफ्नो लागी चिकित्सा पेसा मष्तिस्क र संगीत क्षेत्र मुटु भएको र यी दुवै विना आफ्नो जीवन अर्थहिन हुने बताउनु भयो ।
डा.भोला रिजाल र सरला रिजालको वैवाहिक सम्बन्ध उदाहरणीय र अनुकरणीय रहेको पाइन्छ । उहाँहरु एकआर्कालाई पुर्णरुपमा विश्वास गर्नुहुन्छ भने रिसराग दुवैजनाको अनुहारमा कहिल्यै नदेखेको बताउनु हुन्छ । उहाँहरुको विवाह गर्दा डा।साब १५ वर्षको हुनुहुन्थ्यो भने उहाँकी श्रीमती मात्र १२ वर्षकी हुनुहुन्थ्यो । उहाँहरुले विवाहको दिन मात्र एक अर्कालाई देखेको बताउनु हुन्छ । विवाह गर्दा डा.साबले एस.एल.सी पनि दिनु भएको थिएन् । उहाँले विवाह पछि नै एस.एल.सी दिएर अध्ययनका लागी बाहिर जानु भएको हो । डा. साबकी श्रीमती गुनासो गर्नुहुन्छ, ‘ हाम्रो पालामा अहिलेको जस्ता श्रीमान श्रमतीसँगै बस्ने कुरा गर्ने मौका पाइँदैन थियो । पढाइकै लागी उहाँ बाहिर बस्नु पर्ने भएकाले विवाह भएको १२।१३ वर्षसम्म त हामीले राम्रोसँग कुरा गर्न समेत पाएनौ । उहाँ कहिले काँहि एक महिनाको लागी घर आउनु हुन्थ्यो अनि गइहाल्नु हुन्थ्यो ।’
डा.साब भाग्य भन्दा कर्ममा विश्वास गर्नुहुन्छ भने उहाँकी श्रीमती भाग्मा विश्वास गर्ने बताउनु हुन्छ । उहाँहरु दुवैजना स्वामी कमल नैनाचार्यको शिष्य वा भक्त हुनुहुन्छ । डा.साब जीवनमा कसैन कसैलाई गुरु मान्नु पर्छ भन्ने कुरामा जोड दिनुहुन्छ । उहाँहरुले १७ वर्षदेखि मुक्तिनाथमा निशुल्क स्वास्थ्य संस्था संचालन गरिरहनु भएको छ । जीवनमा जे छ त्यसमा नै सन्तिुष्ट हुनुपर्छ भन्ने डा.रिजाल एउटा दाम्पत्य जीवन सफल हुन दुवैमा सन्तिुष्टिपना, इमान्दारिता र विश्वास रहनु पर्ने बताउनु हुन्छ ।