नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन

सहयात्रा टिभी

बेनी । कात्तिक–२७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् ।

अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका हुन् । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुङ्गामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको समेत अवलोकन गराइएको थियो ।

धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले जानकारी गराएका थिए ।मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको ऐतिहासिक महत्व र समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।

अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेका थिए।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीताको उपचारको सिलसिलामा सोमबार म्याग्दी पुगेका अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकलासहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने भएका छन् ।रासस

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्