नेपाल-ब्रिटेन : ५० वर्षअघि आएको त्यो ब्रिटिश टोलीको सम्झना
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–१८, साँचो अर्थमै त्यो एउटा ऐतिहासिक यात्रा थियो। पचास वर्षअघि सन् १९६८ को एप्रिल महिनामा ब्रिटिश चिकित्सक र नर्स सम्मिलित ११ जनाको एउटा टोली सेता ल्यान्ड रोभर जीप चढेर ब्रिटेनको दक्षिणी सीमासम्म पुग्यो।
ती जीपलाई फ्रान्स पुर्याइयो। त्यहाँबाट तिनै जीप चढेर सो टोली स्थलमार्ग हुँदै नेपालतिर हिँड्यो।
सो यात्रामा सहभागी डक्टर बार्नी रोसडेलका अनुसार आर्थिक कारणले गर्दा स्थलमार्ग रोजिएको थियो।
तीनवटा गाडी लिएर नेपाल जाँदा ६०० पौन्ड खर्चले पुग्थ्यो भने पानीजहाज प्रयोग गर्दा २,००० पौन्ड लाग्ने थियो। यात्रा युरोपबाट इस्तान्बुल र बोस्फरस हुँदै एशियातिर अघि बढ्यो। टोली टर्कीबाट तेहरान हुँदै अफगानिस्तानको हेरात, कान्दाहार, खैबरपास र त्यसपछि पाकिस्तानको भूभाग पार गरेर भारतको राजधानी दिल्ली पुग्यो। त्यहाँबाट रक्सौलको बाटो हुँदै नेपाल प्रवेश गरेका ती गाडीहरू मे २८ का दिन काठमाण्डौं स्थित ब्रिटिश राजदूतावासमा पुगेर रोकिए।
नेपालमा ती चिकित्सक र नर्सहरूले क्षयरोग नियन्त्रणका लागि एउटा कार्यक्रम सञ्चालन गरे, स्वास्थ्य कार्यकर्तालाई तालिम दिए र बालबालिकालाई खोप लगाए। तीमध्ये केहीले त नेपालमै बिहे पनि गरे।
यो अभियानको आरम्भ लण्डनको सेन्ट टोमस अस्पतालमा काम गर्ने डा. जोन कनिङ्घमले सन् १९६६ मा गरेका थिए। उनी विपन्न तथा विकासशील देशहरूमा केही चुनौतीपूर्ण काम गर्न चाहन्थे।नाइजिरियाबारे अध्ययन गर्दैगर्दा उनको दृष्टि नेपालमा पर्यो। त्यतिबेला नेपालमा जनसङ्ख्या एक करोड १० लाख थियो भने चिकित्सकको कुल सङ्ख्या २०० मात्र।
कनिङ्घमले नेपालको स्वास्थ्य मन्त्रालयलाई एउटा पत्र लेखे। मन्त्रालयबाट प्रत्युत्तर पाएकाले उनी उत्साहित भए। अर्को वर्ष उनले ब्रिटेन नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) नाम गरेको एउटा गैरसरकारी संस्था दर्ता गरे। डा बार्नी रोसडेलका अनुसार जोन कुशल सङ्गठक थिए।
पचास वर्षभन्दा अघिको संस्मरण सुनाउँदै बार्नीले भने, ‘म एक वर्षका लागि बालबालिकाको उपचार गर्ने चिकित्सकको रूपमा नाइजिरिया जान लागेको थिएँ र सेन्ट टोमस अस्पतालमा नयाँ वर्षको अवसरमा आयोजित एउटा पार्टीमा मैले उनलाई भेटेँ।’ ‘मैले नाइजिरियाबाट फर्केपछि उनलाई भेट्ने बचन दिएँ।’
बार्नीले सेन्ट जर्ज अस्पतालमा काम गर्ने सर्जन डा. जोन वार्डलाई डा. जोन कनिङ्घमसँग भेट गराए।त्यसपछि शीना नाम गरेकी नर्स पनि नेपाल जान तयार भइन्। पछि जोन वार्ड र शीनाको नेपालमै बिहे भयो।
त्यसैगरी रोजमेरी रीड र जिल केली एवम् लर्ड हन्टकी छोरी प्रु पनि नेपाल जान तयार भए। डा. भिन्ट र डि चाडविकले त नेपालतर्फ प्रस्थान गर्नु केही अघिमात्र बिहे गरेका थिए। डि नर्स हुन् भने भिन्ट फिजिसियन र प्याथोलोजिस्ट।
नेपाल जाने सो टोलीमा समावेश हुने सबैभन्दा पछिल्लो सदस्य थिए १९ वर्षीय पिटर हक्सवर्थ। उनी चिकित्सा क्षेत्रसँग सम्बद्ध नभए पनि सहयोगीका रूपमा भ्रमणलाई आवश्यक सबै सहयोग जुटाउन जतिबेला पनि तयार रहन्थे।
‘सन् १९६८ मा म नाइजिरियाबाट फर्कँदा त जोन कनिङ्घमले नेपाल जाने तयारी निकै अगाडि बढाइसकेका रहेछन्,’ बीबीसी नेपाली सेवासँग कुरा गर्दै डा’ बार्नीले भने।
‘कलकत्ता हुँदै नेपाल पठाउन औषधि र उपकरणहरू प्याक गरिसकिएको थियो। जोन आफै नेपाल पुगेर स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरेर आइसेकका रहेछन्।’
‘हामीसँग दुईवटा सेता ल्यान्ड रोभर जीप पनि तयार थिए। नेपाल गएर हाम्रो टोलीले बागलुङमा काम थाल्ने कुरा थियो, तर नेपाल सरकारको सल्लाह अनुसार विराटनगरलाई आधार बनाएर पूर्वाञ्चलमा काम गर्ने निधो भयो। ब्रिटिश चिकित्सक तथा नर्सहरूको टोलीले अङ्कारा पुगेर चिठीपत्र सङ्कलन गर्यो।
त्यसपछि ब्ल्याक सीको किनारैकिनार पूर्वी टर्की, तेहरान, हेरात, हेल्मन्ड, कन्दाहार र काबुलमा आराम गर्दै खैबरपास काटेर पाकिस्तान पुग्यो। त्यसपछि भारतको शिमला सहरको छोटो बसाइपछि दिल्ली पुग्दा टोलीका सदस्यहरूलाई ब्रिटिश हाइकमिश्नरले स्वागत गरे। रक्सौल-वीरगञ्ज नाकाबाट उनीहरू नेपाली भूभागमा प्रवेश गरे।
सातहप्ते यात्रापछि मे २८, १९६८ का दिन अपराह्ण ४ बजे त्यो टोली लैनचौरस्थित ब्रिटिश राजदूतावास प्रवेश गर्यो।
‘ब्रिटिश राजदूत आर्थर केली र उनकी श्रीमती डडली स्पेनले अचान
