सिसीटिभी जडानको अनुमति नलिए कारवाही गरिने

काठमाण्डौं । पुष–११, जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन्।

गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिए।
कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा दिएको थियो।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणलाई प्रभावकारी बनाउने प्रयोजनका लागि सिसीटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकाले अनुमति लिन आग्रह गरिएको थियो।
प्रशासनले दिएको उक्त ३५ दिने समयसीमा समाप्त भइसक्दासमेत यहाँका सिसीटिभी प्रयोगकर्ताले अटेरी गरेका छन्। तर समयसीमाभित्रै विभिन्न सिसीटिभीका पाँच प्रयोगकर्ताले अनुमतिका लागि निवेदन दिएको छ।

दोगडाकेदार गाउँपालिका, राष्ट्रिय वाणिज्य बैंक, स्मार्ट अपसेट प्रेस, मेघा बैंक र एनसिसी बैंकले सिसीटिभी जडानको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।
बैतडी जिल्लाभरि सिसीटिभी प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि १०० को हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ। कार्यविधि विपरित सिसीटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए।

सिसीटिभी जडान एवं सञ्चालनका लागि अनुमति लिए नलिएको बारे अनुगमन गरिने र अनुगमनका क्रममा नलिएको भए कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए। कार्यविधिअनुसार सिसीटिभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्य दृश्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि तीन महीनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *