मिस्टर वर्ल्ड बडिबिल्डर महेश्वर महर्जन : ‘मिस्टर युनिभर्समा जान मन छ, तर पैसा छैन’

काठमाण्डौं । पुष–१३, थाइल्याण्डमा सम्पन्न शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक जीतेर जुन व्यक्तिले नेपालीलाई गौरव गर्ने एउटा अवसर दिलाए आज उनै व्यक्तिको मुटुमा एउटा पीडा लुकेको छ।
बीबीसी नेपाली सेवासँगको कुराकानीमा शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनले भने, ‘मिस्टर वर्ल्डमा सकि नसकि खर्च गरें। मिस्टर युनिभर्समा जाने मन छ। शारीरिक रुपमा तयारी गर्न सक्छु पनि। तर आर्थिक रुपमा कमजोर छु।’
दुई दशकभन्दा बढी शारीरिक सुगठनमा सक्रिय रहेर बिभिन्न पदक जीतेका महेश्वर महर्जनले हालै विश्वस्तरको प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरेपनि उनी आर्थिक अभावका बीचपनि तत्काल विश्राम लिने पक्षमा छैनन्।
उनले नयाँ लक्ष्य लिइसकेका छन् २०२०मा मिस्टर युनिभर्समा प्रतिस्पर्धा गर्ने, नेपाललाई अर्को स्वर्ण पदक दिलाउने। तर उक्त सपना साकार पार्न उनका सामु मुख्य चिन्ताको विषय बनेको छ तयारीका लागि चाहिने खर्च कसरी जुटाउने।
प्रतिस्पर्धा
मिस्टर वर्ल्ड अन्तर्गत ५५ केजीदेखि १०० केजीसम्मका विभिन्न तौल समूहमा विजेता खेलाडीबीच हुने प्रतिस्पर्धामा अब्बल ठहरिने खेलाडीलाई मिस्टर युनिभर्स घोषित गरिन्छ। जुन शारीरिक सुगठनमा सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्छ।
विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा विश्वविजेता बनेपनि राज्यस्तर वा उक्त खेल सम्बद्ध निकायबाट आवश्यक सहयोग हुनेमा उनी विश्वस्त देखिदैनन्।
‘राज्यले हेरेमा (सहयोग गरेमा) मिस्टर युनिभर्समा सहभागि हुन्छु, हेरौं केही हुन्छ कि,’ उनले थपे।
तुलनात्मक रुपमा महँगो खेल मानिने ‘बडिविल्डिङ्ग’ अर्थात् शारीरिक सुगठनमा महर्जन ‘फिट’ अर्थात् तन्दुरुस्त देखिने हेतुले सन् १९९७मा व्यायामशाला पुगेका थिए।
काठमाण्डूको ढोकाटोलमा जन्मेहुर्केका महर्जन आफ्ना साथीहरु तथा प्रशिक्षकहरुको सुझावका आधारमा शारीरिक सुगठनमा व्यवसायिक रुपमा प्रवेश गरेको बताउँछन्।
अनुभव
सुरुवात देखिनै पौष्टिक आहार, व्यायामका लागि चाहिने शुल्क र अतिरिक्त खर्चको चाँजोपाँजो मिलाउन हम्मेहम्मे परेको उनको अनुभव छ।
पछिल्लो प्रतिस्पर्धाको पूर्वतयारीमा समेत आर्थिक अभावले नै निकै सतायो उनलाई।
नी भन्छन्, ‘कम्तीमा ६ महिना पूर्ण रुपमा तयारीमा लाग्नुपर्ने थियो। तर के गर्नु। आफै कमाएर खर्च गर्नुपर्छ। दुई महिना पूर्ण रुपमा सक्रिय भएँ। त्यसअघिका चार महिना प्रशिक्षकका रुपमा कार्यरत हुनुपर्यो।’
उनका अनुसार सामान्यतया शारीरिक सुगठनमा लाग्ने खेलाडीलाई कुनै प्रतिस्पर्धामा सहभागिताका लागि तयारी गर्दा हाल मासिक ७०(८० हजार रुपैयाँ जति लाग्छ।
‘तर म जस्तो खेलाडी तथा प्रशिक्षकले मासिक रुपमा ३०-४० हजार रुपैयाँ मात्र आम्दानी गर्न सक्छन्। एउटा प्रतिस्पर्धामा सहभागी हुँदा वर्षभरिको कमाइ सकिन्छ,’ महर्जनले भने।
‘मिस्टर वर्ल्डका लागि खेल्दा मेरै ७र८ लाख खर्च भयो। ब्याङ्क खाता खाली छ। २०१५मा भुटानमा एसियाली स्तरको खेलमा स्वर्ण जित्दापनि सरकारबाट सहयोग पाउने आशा गरेको थिए र निरासामै सिमित हुनुपर्यो।
चिन्ता
शारीरिक सुगठनमा युवाहरूको बढ्दो आकर्षण छ तर नबुझेर आउनेहरुको संख्यापनि उल्लेख्य रहेको उनको बुझाइ छ।
सुविधासम्पन्न व्यायामशालाहरु प्रशस्त खुलेपनि सबैमा राम्रा प्रशिक्षक नभएकोले खेलाडीहरु तन्दुरुस्त बन्न नसक्ने र अनेकन शारीरिक समस्याबाट समेत गुज्रिन पर्नसक्ने उनको चिन्ता छ।
‘प्रशस्त पैसा हुनेहरु ‘फिट’ हुनका लागि मात्र व्यायामशाला धाउने हुनाले व्यवसायीक रुपमा शारीरिक सुगठनमा लाग्नेहरु, कम वा मध्यम आय भएका नै हुन्छन्। त्यसैले यस खेलमा राज्यले लगानी नगरी अघि बढ्न कठिन छ,’ उनले भने।
तयारी र लगानीका हिसाबले नेपालजस्तो मुलुकलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न निकै कठिन भएको उनको अनुभव छ।
आँसु
उनको भनाइमा विश्वस्तरका खेलाडीको तुलनामा हामी निकै पछाडि भएपनि राम्रो अवसर पाए नेपाली खेलाडी खाली हात फर्कनु पर्दैन। ‘मैले प्रतिस्पर्धामा सहभागी हुँदा मसँग खुसी साट्ने तथा मनोबल बढाउने दुईजना मात्रै थिए। त्यसैले स्वर्ण जित्दा मेरो मन थामिएन र आँसु झर्यो,’ उनले सम्झे।
राज्यबाट यस खेलमा आवश्यक लगानी नहुनु, आर्थिक अभाव र शारीरिक सुगठनसम्बन्धी संघसंस्थाहरु विभाजित हुनाले पनि कतिपय खेलाडीहरुले यसमा भविष्य खोज्न नसकेको उनले बताए।
‘विश्वका ५८ राष्ट्रका सहभागी भएको पछिल्लो प्रतिस्पर्धामा मैले ७५ किलो तौल समूहमा स्वर्ण पदक आफूले व्यक्तिगत लगानी र प्रयासमा जीतेपनि, अब हामीजस्ता खेलाडीलाई राज्यले केही राम्रो वातावरण बनाइदिनुपर्छ,’ उनको माग छ।बीबीसी नेपालीबाट साभार