पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु
एजेन्सी । पुष–२७, सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ ।
खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।
खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् ।
गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
यसैगरी चिकित्सकहरूद्धारा प्रकाशित विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको बताइएको छ ।
स्वास्थ्य अधिकारीहरूले अन्य असी जना पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको जनाएका छन् ।