पोर्चुगलको वनमा भीषण आगलागी

बिबिसि । पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा ४३ जनाको ज्यान गएको र ५९ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। घाइते हुनेहरुमा केही अग्नि नियन्त्रक पनि रहेको बताइएको छ।
कुइम्ब्रदेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको छ। घटनापछि बोल्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले भने, “हामीले त्रासदी र वियोगको सामना गरिरहेका छौँ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ।”

आन्तरिक मामिलासम्न्धी मन्त्रालयका एक अधिकारी जोआन गोमेसले संवाददाताहरुलाई भने, पेद्रोगाओ ग्रान्दे जिल्लामा वनमा आगलागीमाझ फसेको एक गाडीमा रहेका १६ जनाको ज्यान गएको छ। अन्य तीनजनाको चाहिँ एक चिहानस्थल नजिकै सम्भवतः धुवाँले निसास्सिएर ज्यान गएको उनले बताए। पेद्रोगाओ नगरमा मेयरले आगो नियन्त्रण गर्न पर्याप्त अग्नि नियन्त्रक नभएको बताएका छन्।
आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।