मुख्यसचिव सुवेदीले सरकारी सेवाबाट विदा लिदै, अव को होला नयाँ मुख्यसचिव

सहयात्रा टिभी

नेपाल सरकारको मुख्यसचिव वा सचिव पदमा सेवाअवधि बाँकी रहदै सेवावाट विदा लिने विरलै मात्रै हुन्छन् । तर मुख्यसचिव जस्तो पदमा रहेका हालका नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा लिदैछन् । सुवेदी साउन १ देखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशकको रुपमा जादैछन् । सुवेदीपछि मुख्यसचिवको ढोका कसको खुल्ने हो त्यो भने निकै चर्चाको विषय वनेको छ । हाल मुख्यसचिवको दावेदारमा १० जना सचिव प्रतिस्पर्धामा छन् । यसअघि सरकारले मुख्यसचिव सुवेदीलाई साउन १ देखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । तर, सुवेदीले काम गर्न फिलिपिन्स जाने अनुमती पाएपनि उनले राजीनामा कहिले गर्ने भन्नेबारे निर्णय लिइनसकेको बताए छन् ।

अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव धनबहादुर तामाङ छन् । सुवेदीले २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटो खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ । किनकि पाँचवर्षे कार्यकालका कारण उनले २८ असारमा अवकाश पाउँदैै छन् । उनी ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका हुन् । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् ।

तर, तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्म अवकास लिइसक्नेछन् । त्यसपछि बरियताका आधारमा गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । यो अवस्थामा रेग्मीसँगै सचिवहरू ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् । तर, मुख्यसचिव सुवेदीको राजीनामा २८ असारपछि आएमा भावी मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये जो मुख्यसचिव भए पनि तीन वर्ष (पूर्ण अवधि) बहाल रहनेछन् । तर, मुख्यसचिव भएनन् भने पाँचवर्षे कार्यकालका कारण दुवैजना २ कात्तिकमा सेवानिवृत्त हुनेछन् । उनीहरू एकैदिन २ कात्तिक ०६९ मा सचिव भएका थिए । अझ उनीहरूभन्दा अगाडि अवकाश पाउनेमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगो हुन् । मुख्यसचिव नभएमा क्षेत्री २ साउनमा र मलेगो १ भदौमा अवकाशमा जानेछन् । मुख्यसचिव भएमा पनि ५८ वर्षे उमेरहदका कारण क्षेत्री ८ कात्तिकमा र मलेगो भने १ भदौमा अवकासमा जानेछन् ।

मुख्यसचिवजस्तो सर्वोच्च र गरिमामय पदलाई छोडेर एडिबीको जागिरका निमित्त जान लागेको भन्दै मुख्यसचिव सुवेदीको चर्को आलोचना भईरहेको छ । सुवेदी २० साउन ०७२ मा मुख्यसचिव भएका थिए । मुख्यसचिव सुवेदीको कार्यकाल २० साउन ०७५ सम्म थियो । तर उनि त्यसअगावै सरकारी सवेवाट विदा लिदैछन् ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्