‘महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाए’ : प्रधानमन्त्री के.पि शर्मा ओली
काठमाडौं ।असार–०७, विश्व योग दिवसको अवसरमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री के.पि शर्मा ओलीले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’प्रधानमन्त्री भन्छन् ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए ।
प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे । ‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए ।उनले भने ‘प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको छ,’ ‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’ सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्नेपनि प्रधानमन्त्रीले जनाए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने उनले बताए ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग अभ्यास क्रमको पुस्तिका तयार पारेको हो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पुस्तिका सार्वजनिक गरेका हुन् । पुस्तिकामा योग गर्ने विधि र तरिकाहरु उल्लेख रहेको छ । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र योग प्रशिक्षकहरु सहभागी थिए ।हालै राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले कोरोनासँग लड्न बेसारको महत्वबारे बोलेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सन्जालमा धेरैले ठट्टा गरेका थिए । त्यसै विषयलाई लिएर प्रधानमन्त्रीले असन्तुष्ट व्यक्त गरेका हुन् ।