एक महिनामै बिग्रिए ६० लाखका दुई पिसिआर मेसिन
काठमाडौं । श्रावण–०४,कोरोना भाइरस परीक्षणको दायरा बढाउन एक महिनाअघि खरिद गरिएका आरटी–पिसिआर मेसिन बिग्रन थालेका छन् । सुर्खेत अस्पताल र कीर्तिपुरस्थित लायन्स क्लबको रक्त सञ्चार केन्द्रमा सञ्चालित मेसिन पड्किएका छन् ।त्रिभुवन विश्वविद्यालयका आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठीका अनुसार दुई मेसिन कामै नदिने गरी बिग्रिएका छन् । ‘धनगढी, जनकपुरलगायत अन्य स्थानका प्रयोगशालामा पनि समस्या देखिन थालेको छ । मेसिन कहाँ के बिग्रेको छ, कसैलाई चासो छैन,’ डा. त्रिपाठीले भने । कीर्तिपुर र सुर्खेतमा राखिएका मेसिन एक महिनाअघि ६० लाख रुपैयाँका दरले खरिद गरिएका हुन् । सुर्खेतमा भने मेसिन बिग्रिना साथ नयाँ मेसिन खरिद गरिएको छ । त्यसलाई बनाउनेभन्दा पनि खरिद गरेर हतारमा अर्को मेसिन ल्याइएको छ । प्रयोगशाला संयोजक विश्व भारतीले सुरुमा चलाएको मेसिन बिग्रिएपछि नयाँ खरिद गरिएको बताए । उनले यस विषयमा थप बोल्न चाहेनन् । कीर्तिपुर नगरपालिकाले खरिद गरेको मेसिन एक हप्ता पनि चलेन । अन्य ठाउँमा पनि नयाँ खरिद गरिएका पिसिआर मेसिनले राम्रो नतिजा नदिएको डा. त्रिपाठीले बताए । ‘जहाँ चलेका छन्, तिनीहरूबाट पनि राम्रो परीक्षण नतिजा आएको छैन,’ उनी भन्छन्, ‘यस्तो कुराले मेरो चित्त दुख्छ । दुई लाखको मोटरसाइकललाई चाहिनेभन्दा बढी स्याहारचाकर गरिन्छ, तर करोडौँका मेसिन सुरक्षित चलाउने विषयमा कसैको ध्यान जाँदैन र एक महिना नपुग्दै कामै नलाग्ने हुन्छ ।’
उनका अनुसार दक्ष जनशक्तिविना नै पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएकाले मेसिन बिग्रिन थालेका हुन् । अध्ययन–अनुसन्धानका क्षेत्रमा काम गर्नेहरूलाई मात्रै पिसिआर मेसिनबारे जानकारी हुने गरेको उनको भनाइ छ । ‘पिसिआर मेसिनमा नमुना परीक्षण गर्न सोही ल्याबमा दुईदेखि तीन वर्षसम्म काम गरेको अनुभव आवश्यक पर्छ । तर, नेपालमा जति पनि ल्याबमा अहिले कर्मचारी आबद्ध छन्, उनीहरू तीन दिन तालिम दिएको आधारमा परीक्षण गरिरहेका छन्,’ उनी भन्छन् । परीक्षण गर्दा विशेष ध्यान दिनुपर्ने डा. त्रिपाठीको सुझाब छ ।ल्याब प्राविधिकहरूका अनुसार पिसिआर मेसिनको मुख्य काम भनेको निश्चित सेकेन्डभरमा डिएनए स्याम्पललाई तोकिएको विभिन्न तापक्रममा (९६ डिग्री सेन्टिग्रेडबाट ४ डिग्री सेन्टिग्रेडसम्म), तोकिएको विभिन्न समयसम्म (१५ सेकेन्डदेखि २० मिनेटसम्म) नियमित तताउने र चिस्याउने प्रक्रिया हो । यो प्रक्रियालाई सेन्सरको माध्यमबाट स्क्रिनमा नतिजा डिस्प्ले गर्ने हो । यो अत्यन्तै संवेदनशील हुन्छ । त्यसैले तीन दिन तालिम दिएका कर्मचारीले चलाउन सम्भव नहुने डा. त्रिपाठीको भनाइ छ ।
मेसिन यसरी जोगाऔँ
पिसिआर मेसिनमा स्याम्पल लोड गर्नुभन्दा कम्तीमा पनि १५ मिनेटअगाडि खोल्नुपर्छ । डा. त्रिपाठीका अनुसार पिसिआर गर्ने कार्य सकिसकेपछि तुरुन्तै मेसिन बन्द गरेर हिँड्नुहुँदैन । नमुना निकालेपछि तताउने प्लेट (जुन ११० डिग्री सेन्टिग्रेटसम्म तापक्रम हुन्छ) रुमको तापक्रममा नआउन्जेल (करिब ३० मिनेट) हल्का लिड खुला राख्नुपर्छ । पिसिआर मेसिन राख्ने ठाउँवरिपरि सुक्खा हुनुपर्छ । पिसिआर मेसिन बन्द गरेपछि हावा नछिर्ने गरी त्यसलाई ढाकेर राख्नुहुँदैन ।पिसिआर मेसिन धेरै नै संवेदनशील यन्त्र भएकाले विद्युत् सप्लाईमा भोल्टेज रेगुलेटर र फ्रिक्वेन्सीको अति नै ख्याल गर्नुपर्छ । ‘पिसिआर मेसिनमा स्याम्पलहरू राख्दा पिसिआर ट्युबको लिड राम्रोसँग बन्द गर्नुपर्छ,’ डा। त्रिपाठी भन्छन्, ‘ट्युबलाई सेन्ट्रिफ्युज गरेर मात्र लोड गर्नुपर्छ, जसले गर्दा ट्युबको बाहिरी भागमा रहेको चिसो वा पानी उडेर जान्छ ।’पिसिआर ट्युब लोड गर्दा हातले हल्का गर्नुपर्छ, जोड लगाउनुहुँदैन । लिड लक गर्दा आफैँ टाइट हुन्छ । उनका अनुसार पिसिआर मेसिन सकेसम्म आरएनए एक्स्ट्र्याक्सन गर्ने वा मास्टर मिक्स बनाउने ठाउँमा राख्नुहुँदैन । यो छुट्टै ठाउँमा राख्नुपर्छ ।
शनिबार दुई महिनायताकै कम संक्रमित देखिए
दश दिनयता कोरोना संक्रमण देखिनेको संख्या नियमित घट्दै गइरहेकोे छ । शनिबार दुई महिनायताकै सबैभन्दा कम संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५७ संक्रमित देखिएका छन् । यो संख्या जेठ दोस्रो सातायता दैनिक देखिएका संक्रमितको तुलनामा सबैभन्दा कम हो । १२ जेठमा ७७ जनामा संक्रमण देखिएको थियो । १९ असारमा सबैभन्दा बढी सात सय ४० जनामा संक्रमण देखिएको थियो ।
शनिबारसम्म देशभर संक्रमितको संख्या १७ हजार पाँच सय दुई पुगेको छ । त्यसमध्ये ११ हजार ६ सय ३७ जना निको भएर घर फर्केका छन् । कोरोनाबाट अहिलेसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभर २३ हजार दुई सय ७५ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घन्टामा तीन हजार तीन सय ३१ नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । पहिलो संक्रमण देखिएको ९ माघदेखि शनिबारसम्म तीन लाख ११ हजार आठ सय २९ वटा नमुना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटा, पाँचथर, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य भएको छ । तर, भिडभाड बढ्दै गएकाले देशभर जोखिम झन् बढेको प्रवक्ता डा. गौतमको भनाइ छ । नयाँपत्रिकाबाट