कोरोना सुधार अघिको अवस्था खराब हुने ट्रम्पको अनुमान
अमेरिका । श्रावण–०७,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारीको कारण देखापरेको अवस्था सुधार उन्मुख हुनुअघि खराब हुने अनुमान गरेका छन् । उनले सबै अमेरिकीहरूलाई मुख छोपेर हिँड्न पनि उनले भने। त्यसको असर हुने भन्दै उनले देशप्रेम देखाउन समेत भनेको बताइएको छ ।उक्त पत्रकार सम्मेलनमा उनले मास्क लगाएका भने थिएनन् । तर यसअघि भने उनले यस्ता व्यक्तिगत सुरक्षा सामग्रीको महत्त्व खासै नभएको बताउने गरेका थिए । अमेरिकाभर भाइरसबाट संक्रमित हुनेको संख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइएको पाइएको छ।ट्रम्पले दुर्भाग्यवश कोरोना भाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने भन्दै चेतावनी दिएका हुन् । उनले भने, ‘हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईँ सामाजिक दूरी राख्न सक्नुहुन्न त्यतिबेला मास्क लगाउनुस्। तपाईँलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ।’ मिडियाका अगाडि भने मास्क लगाउन ट्रम्प अनिच्छुक देखिन्छन् ।तर उनले हालै एउटा सैन्य अस्पतालको भ्रमणमा जाँदा भने मास्क लगाएका थिए।
राष्ट्रपति ट्रम्पले भने, “हामी अमेरिकीहरूलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सरसफाइमा ध्यान दिन भनिरहेका छौं प्रत्येक पटक मौका मिल्दा हात धुनुस्। हामी युवाहरूलाई भीडभाडयुक्त बारहरू र घरभित्र हुने भेलाहरूमा नजान अनुरोध गरिरहेका छौं। सुरक्षित र चलाख हुनुहोस्।”जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिका, विश्वमै कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै रहेको देश हो । अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख नाघिसकेको छ भने १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ ।