ब्राजिलको राष्ट्रपतिकी पत्नी र मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

ब्राजिल । श्रावण–१६,ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोकी पत्नी र उनको मन्त्रिमण्डलका एक मन्त्रीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।ब्राजिल सरकारले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । ब्राजिल अमेरिका पछि दोस्रो ठूलो कोरोना प्रभावित देश हो । यसअघि ब्राजिलका राष्ट्रपति बोल्सोनारो पनि कोरोना संक्रमित भएका थिए । बोल्सोनारोले आफूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट आएको भन्दै संक्रमणबाट मुक्त भएको केही घण्टामै उनकी पत्नी मिसेलमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।बोल्सोनारो यसअघि नै संक्रमित भएपछि क्वारेन्टाइनमा बसेका थिए । ‘प्रथम महिला मिसेल बोल्सोनारोमा बिहीबार कोभिड १९ परीक्षणको पोजिटिभ रिपोर्ट आएको छ । उनको स्वास्थ्य अहिले ठीक छ । र सबै मापदण्ड पालना गर्नेछिन्,’ विज्ञप्तिमा भनिएको छ ।

 

बिहीबार बिहानै ब्राजिलका विज्ञान तथा प्रविधिमन्त्री मार्कोस पोन्टेस पनि कोरोना संक्रमित भएको पुष्टि भएको हो । यससँगै बोल्सोनारोको सरकारमा कोरोना संक्रमित बन्ने मार्कोस पाँचौँ मन्त्री हुन् ।यहाँको स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ब्राजिलमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ९० हजार पुगिसकेको छ । साथै २५ लाखमा संक्रमण देखिएको छ । मन्त्री पोन्टेसले फेसबुकबाट पनि आफू संक्रमित भएको खबर सार्वजनिक गरेका छन् । आफु क्वारेन्टाइनमा बस्न थालेको पनि जानकारी दिए । ‘मलाई कोरोनाभाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको छ । म ठीक छु, फ्लूको लक्षण र टाउको दुखाइ मात्रै हो,’ उनले भनेका छन् ।

प्रकाशित : 31 July, 2020

प्रतिक्रिया दिनुहोस्