लेबनानमा आन्दोलन चर्किएपछि सूचनामन्त्रीको राजीनामा
एजेन्सी । श्रावण –२६,लेबनानमा बेरुत घटनासँगै यहाँकी सूचनामन्त्रीले राजीनामा दिएकी छन् । मनाल अब्देल समादले आइतबार विस्फोटको घटनाबाट दुखी बनेको भन्दै राजीनामा घोषणा गरेको बताइएको छ ।
गत बुधबारको घटनामा १ सय ५० भन्दा धेरैको मृत्यु हुनुका साथै ५ हजार घाइते भएको उक्त घटनापछि सरकारी उच्च अधिकारीमध्ये मनालको पहिलो राजीनामा हो । ‘बेरुतको विशाल विपदपछि सरकारबाट म राजीनामा घोषणा गर्दछु,’ विज्ञप्तिमा उनले जनाएकी छन् । स्थानीय मिडियाका अनुसार मनालले उक्त घटनाप्रति माफी पनि मागेकी थिइन् ।लेबनानमा घातक विस्फोटको घटनापछि स्थानीयहरुले सरकारलाई उक्त घटनाप्रति उदाशिन बनेको भन्दै प्रदर्शन गरेका थिए । जनताले प्रदर्शन गर्न थालेपछि सूचना मन्त्री मनालले राजीनामा दिएको स्थानिय मिडिया को भनाई छ ।राष्ट्रपति माइकेल आउनले अन्तर्राष्ट्रिय समुदायको अनुसन्धानको प्रस्ताव अस्वीकार गरेका छन् । साथै सत्य कमजोर हुने भन्दै उनले अनुसन्धानको प्रस्ताव अस्वीकार गरेका थिए । तर घटनापछि कम्तिमा ६ विधायकले राजीनामा दिएका छन् । स्थानीयको विशाल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय समुदायबाट पनि यतिबेला लेबनान सरकारलाई दबाब बढेको पाइएको छ ।