हुने भयो तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

सहयात्रा टिभी

काठमाडौँ । भाद्र –११, काठमाडौँ उपत्यकामा दोस्रोपटक भदौ १७ सम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो ।

बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि पनि नियमित उडान तालिका परिवर्तन गर्नुपर्ने कुनै निर्देशन नआएकाले समयमै उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिएकाछन् ।मन्त्रालयले आगामी बुधबारदेखि एक महिनासम्मका लागि नियमित र चार्टर्डतर्फको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार एक महिनाको अवधिमा नियमिततर्फ ५८ वटा उडान हुनेछन् । त्यसमध्ये २९ वटा उडान नेपाली वायु सेवामार्फत हुनेछन् ।मन्त्रालयका सहसचिव सुरेश आचार्यले उडान तालिका बनाउँदा सकेसम्म स्वदेशी विमानलाई प्राथमिकतामा राखेर तयार गरिएको बताए। सोमबार तय भएको चार्टर्ड उडानतर्फ आगामी बुधबारदेखि एक महिनासम्म २७ वटा उडान हुनेछन् । २१ वटा उडान स्वदेशी विमान कम्पनीले भर्नेछन् । दैनिक बढीमा पाँच सय जना यात्रु मात्र ल्याउने गरी नियमिततर्फको उडान बनाएको मन्त्रालयले जनाएको छ ।भदौ १६ देखि खुला गरिएको नियमित उडानमा यात्राका लागि सरकारले पीसीआर नेगेटिभ रिपोर्टलाई अनिवार्य गरेको छ । उडान हुनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्टको आधारमा मात्रै बोर्डिङ पास उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । एउटै उडानबाट पीसीआर नेगेटिभ रिपोर्ट आएका यात्रु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । यात्रुले आफ्नो स्वास्थ्यको जानकारी अनुगमन गर्ने निकाय स्थानीय तह र त्यहाँस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउनुपर्ने छ ।नियमित उडानबाट आउने यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसाथ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइट ९सीसीएमसी डट जीओभी डट एनपी०मा अनलाइन फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा ल्याउनुपर्ने छ । यस्तो फाराम छुटेको अवस्थामा बोर्डिङकै क्रममा वायुसेवाले उपलब्ध गराउनुपर्ने बताइएको छ ।वायु सेवाले एउटै उडानमा पीसीआर परीक्षण गरेको र नगरेको यात्रु ल्याउन पाउने छैनन् । यसरी ल्याएको खण्डमा वायु सेवाले आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टाइनमा राख्नुपर्ने छ । वायु सेवाले नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउने पाउने छन् । सबै यात्रुले सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने मन्त्रालयले बताएकोछ ।

प्रकाशित : 27 August, 2020

प्रतिक्रिया दिनुहोस्