धेरै बच्चा जन्माउनेलाई पुरस्कार

काठमाडौं । असोज–२१, कतिपय मुलुकले धेरै बच्चा हुने बाबुआमालाई सहुलियत दिने गरेको पाइन्छ। तर, कजाकस्थानमा भने धेरै बच्चा जन्माउने आमालाई सेवा–सुविधासँगै पुरस्कार नै दिने गरिएको छ। महिलाहरु बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित हुन् भनेर यस्तो अवार्ड दिने गरिएको हो।
जन्मदर उच्च बनाउने आमालाई त्यहाँ ‘हिरो मदर’को नाममा पुरस्कृत गरिन्छ। ६ जना बच्चा जन्माउने महिलालाई रजत र सात वा त्यसभन्दा बढी बच्चा जन्माउनेलाई स्वर्ण पदक दिने गरिएको छ। पदक प्राप्त गर्ने आमाले जीवनभर सरकारबाट अन्य सुविधा पनि पाउँछन्। चार वा त्योभन्दा बढी बच्चा पाउनेले पदक नपाए पनि बच्चाहरु २१ वर्ष नपुगुन्जेल सरकारबाट आर्थिक सहयोग पाउँछन्।
कजाकस्थान सरकारले जन्म दर उच्च बनाउने कुरालाई अहिले उच्च प्राथिमकतामा राखेको छ। ‘अहिले हरेकले कसरी बढी बच्चा जन्माउने बारे कुरा गरिरहेका छन्। हामीलाई जनसंख्या बढाउनु छ जसरी पनि,’ श्रम तथा सामाजिक कार्यक्रम विभागका प्रमुख अकास्ना इलुसेजोभाले भने। सन् १९४४ मा तत्कालीन सोभियत युनियनमा पनि ‘मदर हिरोेइन’ नामको यस्तै अफर थियो, जसमा १० वा त्योभन्दा बढी बच्चा हुने परिवारलाई विभिन्न सुविधा दिइन्थ्यो ।