बागलुङका चार वडामा एक हप्ताका लागि ‘लकडाउन’
बागलुङ । कार्तिक–१७, बागलुङ बजार क्षेत्रको समुदाय तहमा कोरोना संक्रमण पुष्टि भए पछि नगरका चार वटा वडामा एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले सोमबार राती १२ बजेदेखि कार्तिक २४ गते राती १२ बजेसम्म लागु हुने लकडाउन गर्ने निर्णय गरेको हो । सर्वपक्षीय निर्णय जिल्ला सुरक्षा समितिले सदर गरे पछि कार्यान्वयनमा जाने बताइएको छ ।
बैठकले बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा संचालन हुने अत्यावश्यक बाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तका अनुसार खाद्यान्न, तरकारी, दुध औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषी तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन, सरकारी सवारी साधन तथा पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवाबीचमा चढन र झर्न नपाउने गरी संचालन हुनेछन् ।अत्यवाश्यक बाहेका संघ संस्था तथा बैंक वित्तिय संस्थाका सेवा र चार वटा वडाका कार्यालयहरुको सेवा समेत हाललाई स्थगित गर्ने र अनावश्यक आवतजावत रोक लगाउने निर्णय भएको छ ।दैनिक उपयोग्य सामाग्री खरिदको लागि विहान ७ देखि ९ बजे पसल संचालन गर्न अनुमति प्रदान गर्ने निर्णय भएको पन्तको भनाई छ ।प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले अन्तर जिल्लामा अत्यावश्यक कार्यका लागि जानुपर्ने भएमा गन्तव्य स्थानीय तहको एवं जिल्लाको सहमति प्राप्त भएपछि यात्रा सहजीकरणको व्यवस्था मिलाईने जानकारी दिए ।
यहाँ हाल १२५ जना सक्रिय कोरोना संक्रमित छन् । बागलुङ बजारका व्यापारी, राजनीतिकर्मी, पत्रकारलाई कोरोना पहिचान भए पछि उद्योग वाणिज्य संघ र बागलुङ नगरपालिकाले करिव दुई हप्ता लकडाउन घोषण गर्न प्रशासनलाई लिखित आग्रह गरेका थिए ।जिल्लामा हालसम्म ९ हजार ७४३ जनाको स्वाव संकलन भएको मध्ये ९ हजार ३४९ जनाको रिपोर्ट प्राप्त भएको छ । ३९४ जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । जसमध्ये ६७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५४९ जना संक्रमित उपचार पश्चात घर फर्केका छन् ।