उपत्यकामा कडा लकडाउनको सम्भावना
काठमाडौं । कार्तिक–२७,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ।
बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच भएको छलफलमा यो प्रस्ताव आएको हो।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको जनाइएको छ।कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ बताउँछन् । छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएकोस्रोतले जनाएको छ। ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने। बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन्। कोरोना संक्रमितको मृत्युदर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होमआइसोलेसन र गम्भीर बिरामीलाई मात्रै अस्पताल लैजानेलगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्ने जस्ता विषयमा पनि छलफल भएको छ। उक्त बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।