फेसबुकले थप सेक्यूरिटी फिचर ल्याउँदै, हार्डवेयर सेक्यूरिटी किन्नुपर्ने
एजेन्सी । पुस ९, सोशल मिडिया प्लेटफर्म फेसबुक थप सुरक्षित हुने भएको छ । फेसबुक मोबाइल एप प्रयोगकर्ताले अब ‘फिजिकल सेक्यूरिटी की’ को माध्यमबाट आइडी भेरिफाइ गरेर लगइन गर्नसक्ने फेसबुकले मंगलबार जानकारी दिएको छ।
फेसबुक प्रयोगकर्ताले यो सुविधा आगामी वर्षदेखि उपयोग गर्न पाउनेछन् ।
हालका लागि डेक्सटप प्रयोगकर्ताले भौतिक पहिचान खुलाएर फेसबुक लगइन गर्न सक्ने अप्सन कम्पनीले दिएको छ ।
यसका लागि हार्डवेयर सेक्यूरेटीको आवश्यकता पर्छ । उक्त सुविधा उपयोग गर्नका लागि प्रयोगकर्ताले फेसबुकले तोकेको आधिकारीक वितरकबाट हार्डवेयर किन्नु पर्ने हुन्छ र सो हार्डवेयर किनेर फेसबुकमा दर्ता गर्नुपर्छ ।
उच्च ओहदाका व्यक्तिका फेसबुक एकाउन्टको सुरक्षाका लागि फेसबुकले नयाँ योजना अघि सारेको हो । कम्पनीले फेसबुक प्रोटेक्ट योजनामा विश्वभरका उच्च ओहदाका व्यक्ति र चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई सुरक्षा गर्नेछ।
सन् २०२० को जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वभर हाइप्रोफाइल व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक भएको थियो ।
निकट भविष्यमा फेसबुकले पनि त्यस्तो समस्या भोग्न सक्ने खतरा रहन्छ । त्यसबाट बच्न फेसबुकले अहिलेदेखि नै सुरक्षाका लागि काम सुरु गरेको हो ।
अहिले नै फेसबुक प्रोटेक्सन अन्तरगत अमेरिकामा उच्च सरकारी अधिकारी राजनीतिज्ञ निर्वाचन अधिकारीहरुको एकाउन्टलाई अतिरिक्त सुरक्षा दिन थालिसकेको छ भने रियल टाइम मनिटरिङ्ग समेत गरिरहेको छ । रोयटर्स