हेलिकप्टरको प्रयोगबाट पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाइयो
काठमाण्डौ । पुस १४, ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि आगो लागिरहेको छ । बिहीबारदेखि लाग्न थालेको आगो सोमबार बिहान सम्म मन्दिर परिसरमा नै पुगेको थियो ।सो आगो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।
स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा ल्याउन नसकेको र मन्दिर नै जोखिममा पर्न जादा सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको जानकारी अनुसार हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको छ । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।