बुटवलको सडक किनारका घरहरूमा चल्यो डोजर

सहयात्रा टिभी

रुपन्देही । पुस २६,  बुटवलमा सडक मिचेर बनाइएका घरहरु डोजर लगाएर भत्काउन सुरू गरिएको छ । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घर आइतबार बिहानदेखि भत्काउन सुरू गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

लामो समय अदालती प्रक्रियाले रोकिएको सडकको विस्तार कार्यलाई हालै अदालतलको निर्णय आएपछि आज बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरी सडक मिचेर निर्माण गरिएका घर टहर भत्काउन सुरु गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

‘घर टहर हटाउन पटक–पटक आग्रह गरेका थियौँ, उहाँहरुले मान्नु भएन, मरासिनीले भने, ‘त्यसैले बाध्य भएर डोजर लगाएका हौँ । अहिले डोजर चलिरहेको छ ।’

पटक–पटक अदालतको आदेशले रोकिदै आएको सो सडकको विस्तारविरुद्ध नारायणीदेवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यसअघि गत ९ असारमा दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्ल र डा.मनोज कुमार शर्माको संयुक्त ईजलासले सो आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको आदेशसँगै बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा भित्रका घरटहरा तथा त्यहाँ बनेका संरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : 10 January, 2021

प्रतिक्रिया दिनुहोस्