बालबालिकालाई चिसोबाट कसरी जोगाउने ?
काठमाडौं । माघ ०५, यतिखेर जाडोको मौसम छ। गर्मीसँग खेलिरहेको शरीर एकै पटक जाडोमा घुलमिल हुन निकै गाह्रो हुन्छ। मौसम परिवर्तन हुने बेलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बच्चालाई चिसोले छिटो समात्ने गर्छ।
यस्तो समस्या देखिँदा धेरै आमाबुबा कतै आफ्नो बच्चालाई कोरोना भाइरसको संक्रमण त भएन भनेर आशंका पनि गर्ने गर्दछन् । तर जाडोमा बच्चामा यस्तो समस्या देखिँदैमा कोरोना भयो भनेर आत्तिहाल्नु पर्दैन। चिसो मौसममा यस्तो समस्या देखिनु सामान्य नै हो। यो बेला बालबच्चालाई मौसमी फ्लुले समाएको हुनसक्छ। सामान्यतयाः मौसमी फ्लु ७ दिनसम्म निको हुँदैन। त्यसपछि विस्तारै निको हुँदै जान्छ।
यस्तो समस्या देखिँदा औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ। घरेलु उपचारका लागि नुनपानी, बेसारमा तुलसी पत्ताको पकाएर खुवाउने, तातोपानीमा मह, अदुवा पकाएर खुवाउन सकिन्छ। अलि ठूलो भएका बच्चालाई बाफ लिन लगाउनुपर्छ, जसले गर्दा कफ निकाल्न सहयोग गर्छ।
बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ। सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ।
घाम लागेको बेलामा सबै कपडा खोलेर तोरीको तेलले मालिस गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ। घाममा राखेर तेल लगाउनु भनेको चिसोबाट जोगाउने सबैभन्दा ठूलो औषधि हो। चिसो मौसममा दिनभरिको घाममा राख्न बच्चालाई धेरै फाइदा हुन्छ।
घाममा बस्दा शरीरको पानी सोच्ने हुँदा शरीर सुख्खा हुने, चिलाउने डायरिया हुने जस्ता समस्या देखिन सक्छन्, त्यसैले घाममा राखेपछि बच्चालाई प्रशस्त मात्रमा मनतातो पानी पिउन दिनुपर्छ। घाममा बसेर सुन्तला, बदाम खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। सुन्तलामा पानीको तत्व, भिटामिन सी हुन्छ। यसले रुघाखोकी विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ। चिसो मौसममा सुन्तला र कागती उपयुक्त मानिन्छ। साथै बदाम, बेसारले शरीर तताउन सहयोग गर्छ।
चिसोको समयमा हिटरको प्रयोग गरिन्छ।सकेसम्म हिटरको प्रयोग नगरेकै राम्रो हुन्छ। दिउँसो बच्चालाई घाममा राखेपछि बेलुका हिटर बाल्नु पर्दैन। हिटरबाट निस्कने कार्बनडाइअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ।
कसैकसैले जाडो हुन्छ भनेर धेरै कपडा लगाउने गर्नुहुन्छ। त्यसो गर्दा बच्चाको शरीरमा पसिना आएर निमोनिया पनि हुनसक्छ। त्यसैले आवश्यक मात्रामा कपडा लगाइदिनुपर्छ। बच्चाको शरीरबाट पसिना निस्कने बेलामा बेलाबेलामा पसिना आएको छ कि छैन भनेर जाँच गर्नुपर्छ।
राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ। राति सुत्दा ओढाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ। बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी सकेसम्म नलाउँदा नै राम्रो हुन्छ।
आमाको दूध खाने बच्चालाई चाडो मौसममा छिटोछिटो दूध खुवाउनुपर्छ। सानो बच्चालाई रुघा लागेपछि श्वास फेर्न गाह्रो हुने हुँदा रुघा लागेका मानिससँग टाढै राख्नुपर्छ। यदि जोगाउँदाजोगाउँदै पनि रुघा लागेमा साना बच्चालाई नाक थुनिन्छ। त्यस्तो बेलामा बच्चाको नाक नुनपानीले सफा गरिदिनुपर्छ। उनीहरुलाई एन्टिबायोटिक चलाउनु हुँदैन। रुघा लागेका बच्चालाई ठाडो पारेर सुताउनु पर्छ। टोपी, पन्जा, मोजा लगाएर न्यानो बनाएर राख्नुपर्छ।