टिचिङ अस्पतालका एक डाक्टरमाथि कुटपिट
काठमाडौं । माघ ०६, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।
आज बिहान एकजना ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका छन् ।कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको बताए पनि आफन्तले त्यो कुरा स्वीकार गरेनन् । आक्रोशमा आएका मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि नै कुटपिट गरेको उनको भनाइ छ ।
मृतकको शव अस्पतालमै राखिएको छ । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो तर उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।
डाक्टरमाथि कुटपिट गर्नेलाई महाराजगञ्ज प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।