एबीसी पुग्न पिसिआर रिपोर्ट नचाहिने
काठामाण्डौं । माघ ०७, आवश्यक सुरक्षा सतर्कता अपनाएर यस अघि नै व्यवसाय सञ्चालनमा आईसकेको विश्वकै चर्चित पदमार्ग (एबीसी) पुग्न अनिवार्य गरिएको पिसिआर रिपोर्ट अब नचाहिने भएको छ। छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय लिएको बताएको छ । समितिको बैठक अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा फकिर्दै गरेकाले यस्तो निर्णय लिइएको हो ।
समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवन पनि सामान्य अवस्थामा फर्किर्दै गईरहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको हो।’
एबीसी आउने पदयात्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव भएको छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ भने माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यही हप्ता भित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ ।