तराईमा चिसो बढ्यो, काठमाडौँको भने न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । माघ १२, हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागी चिसो धरै बढेको छ ।
बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् । अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको जनाईएको छ ।
हिजोको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस थियो । काठमाण्डौ उपत्यकालगायत केही जिल्लामा घाम लागे पनि चिसो हावा चल्ने भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । तर, चिसो बढे पनि तत्काल पानी भने नपर्ने मौसमविद्को भनाइ रहेको छ । यसैबीच, वर्षा र हिमपात गराउने पश्चिमी वायुको शक्तिशाली प्रणाली नेपाल प्रवेश नगर्दा यसपालि हिउँ समेत राम्ररी परेको छैन । हिउँ नपर्दा सेता हिमाल काला हुँदै गएका छन् भने लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । आज, काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।