कोरोनाविरुद्ध आजदेखि खोप अभियान सुरु हुँदै, उपत्यकाका १७ अस्पतालमा खोप केन्द्र
काठमाडौं । माघ १४, कोभिड –१९ विरुद्धको खोप अभियान आज देशभर एकसाथ सुरु हुँदैछ । भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप नेपालमा आज (बुधबार) देखि लगाउन लागिएको हो ।
भारतले अनुदानमा दिएको खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल रुपमा शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख डोज खोप नेपाल ल्याइएकोमा सबै प्रदेशमा खोप पुगिसकेको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए ।
पहिले चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीले खोप पाउनेछन् । यस्तै, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।
काठमाडौं उपत्यकाका कुन–कुन अस्पताल खोप केन्द्र ?
काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको छ । यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।
मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् ।
भारतको सेरम इस्सिच्युटले उत्पादन गरेको यो खोप भारतीय संस्करण हो । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।