११ एयरलाइन्सलाई बक्यौता बुझाउन ताकेता

सहयात्रा टिभी

काठमाडौं । माघ २६, नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल बन्द अवस्थामा रहेका ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले सोमबार एक सूचना निकाल्दै उनीहरुले बुझाउनुपर्ने बक्यौता रकम पटक पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः ३० दिनको अल्टिमेटम दिएर बक्यौता बु्झाउन भनिएको छ । नेकोन र कस्मिक एयरको बक्यौता सबैभन्दा धेरै रहेको छ भने समयमा नतिरे कालोसूचीमा राखेर असूल उपर गरिने भएको बताईएको छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । ती एयरलाइन्स अहिले बन्द अवस्था रहेपनि बक्यौता रकम भने तिरेका छैनन् ।

प्राधिकरणका अनुसार नेकोन एयरलाइन्सले प्राधिकरणलाई ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ तिर्न बाँकी रहेको छ । यसैगरी शिवानी एयरका मणिन्द्र लाल रंजितकारले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालकहरु प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठले ७२ हजार ७२८ रुपैयाँ बक्यौँता तिर्न बाँकी रहेको बताईएको छ ।

यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर ९कतार० रहेका छन् भने उनीहरुले ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यस्तै नेपाल एयरवेजका प्रदिप जंग राणाले ५ लाख ५० हजार ५४ रुपैयाँ बक्यौता रहेको छ । सांग्रिला एयरमा एक दर्जनको हाराहारीमा सञ्चालक रहेकोमा सो एयरले १५ लाख ३७ हजार ८०० बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । स्काइलाइन एयरवेजले पनि १५ लाख ५० हजार ४ सय बक्यौता दिनुपर्ने देखिएको छ ।

उता गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ तिर्नु रहेको छ । सो एयरका सञ्चालकमा प्रज्वल श्रेष्ठ र उज्वल श्रेष्ठ रहेको प्राधिकरणले जनाएको छ । यसैगरी कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ भने सो एयरका सञ्चालकमा नारायण सिंह पुन र सविना राई पुन रहेका छन् । यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा, शिवेन्द्र बहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

 

 

 

 

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्