इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नहुने
काठमाडौं । माघ २६, अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् । सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले बताउनु भयो । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले इरान नीतिमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।
सन् २०१५ मा भएको सम्झौतामा इरानको परमाणु कार्यक्रम सीमित गर्ने र त्यसको बदलामा उसमाथिको प्रतिबन्ध फुकुवा हुने उल्लेख छ । तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि मात्रै इरान सन् २०१५ को सम्झौतामा फर्किन सक्ने बताएका छन् । बाइडेनले अन्तर्वार्ताको क्रममा चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । उनले चीनसँगको तनावको कुनै अर्थ नरहेको तर दुई देशबिच तीव्र प्रतिस्पर्धा भने रहेको र रहनु पर्ने बताए ।