परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था

सहयात्रा टिभी

काठमाडौं । माघ २८, यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था मिलाईएको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था भएकामा सेवाग्राहीलाई सहज हुने गरी नयाँ व्यवस्था गरिएको बताईएको छ ।

कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने जनाउँदै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

गत आर्थिक वर्षमा प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले कोभिड–१९ का कारणले राजश्व तिर्न नपाएकाले अवधि अहिलेका लागि बढाइएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी सो व्यवस्था गरिएको हो । उनले भने, “धेरै सेवाग्राहीले कोभिडका कारणले राजश्व तिर्न नपाएको भनी गुनासो आएकाले अवधि बढाएको हो ।”

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्