आन्तरिक पर्यटकको आगमनमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, कोरोना सङ्क्रमणले देश लकडाउन भएका बेला सुनसान भएको रसुवाको पर्यटकीय क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमनसँगै हिमाली प्रकृति छटा अवलोकनका लागि बढ्न सक्ने पर्यटकको चापलाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन होटल तथा लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको पर्यटन व्यवसायीले बताएका छन् । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो ।

शिशिर ऋतुअन्तर्गत फागुन १५ बाट हिमाली क्षेत्रमा तातोपना बढ्दै जाने र गृष्म ऋतुको जेठ महिनाभर भ्रमणको उपयुक्त समय मानिएको छ । यात्राका क्रममा नीलाद्री पर्वतमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँबाबाको दर्शनले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गोसाइँकुण्डका यात्रुसमेत ओहोरदोहोर गर्न थालेका छन् ।

रसुवा जिल्लाको लाङटाङलगायत तामाङ सम्पदा मार्ग, गोसाइँकुण्ड धार्मिक एवं हेलम्बु, ठाडेपाटी क्षेत्रका पदमार्गमा अवस्थित होटल तथा लजमा समेत आवश्यक तयारी पूरा भएको होटल व्यवस्थापन समितिले जनाएको छ । यस्तै मानव बस्ती नजिक लाङटाङ क्षेत्रको हिमनदी, लौरीविनायकबाट देखिने पश्चिमी नेपालका अल्का हिमाल, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रमा पर्ने पार्वतीकुण्ड, थुमनको नाकथलीलगायतका स्थानले आगन्तुक पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् ।

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्