ट्रम्पले लगाएको प्रतिबन्ध फुकुवा, भिसाका लागि पुनः आवेदन दिन पाउने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, अमेरिकी विदेश विभागले विभिन्न देशमा ट्रम्प प्रशासनले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ भने प्रतिबन्ध फुकुवा भएसँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् । ट्रम्प प्रशासनले धेरैजसो मुस्लिम देश र केही अफ्रिकी देशमा प्रतिबन्ध लगाएको थियो ।

राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गर्नुभएको थियो । बाइडनले ट्रम्पको प्रतिबन्ध लगाउने निर्णयलाई ‘राष्ट्रिय विवेकमाथिको धब्बा’को संज्ञा दिनुभएको थियो ।

विदेश विभागका प्रवक्ता नेड प्राइसले २० जनवरी २०२० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई पुनः आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गर्नुभएको छ भने सो मितिभन्दा पछि दिएर अस्वीकार भएकाहरुले पनि पुनर्विचारको मागसहित आवेदन दिनसक्ने प्राइसले बताए।

अमेरिकी विदेश विभागको तथ्याङ्क अनुसार यात्रा प्रतिबन्धका कारण करिब ४० हजार मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् । ट्रम्प प्रशासनले ईरान, लिबिया, सोमालिया, सूडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्