लन्डन दूतावासमा २४सै घन्टा सेवा: राजदूत रेग्मी

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २६, बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी पदबहाली गरेपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । यहि मार्च १ तारिखबाट नेपाली राजदूतावास लन्डनमा २१ औं राजदूतका रुपमा रेग्मीले पदबहाली गरेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले मंगलबार सांझ राजदूत रेग्मीको स्वागत तथा सम्मानमा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा रेग्मी पहिलोपटक बेलायतवासी नेपाली समुदायसमक्ष प्रस्तुत भएका छन्।

एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले नवनियुक्त राजदूत रेग्मीलाई बेलायतमा स्वागत गर्दै एनआरएनए र दूतावासबीचको सहकार्य एवं सहयोग उनको कार्यकालमा झन् बढ्दै जाने अपेक्षा व्यक्त गरिन् । कार्यक्रममा एनआरएनए केन्द्रिय महासचिव डा। हेमराज शर्मा, सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्य, बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए आइसीसी सदस्य रामशरण सिंखडा, गोर्खा टास्क फोर्स संयोजक एवं मानार्थ सदस्य ले। रि। चन्द्रबहादुर गुरुङ लगायतले पनि मन्तव्य राखेका थिए ।

नेपाली हरुको समस्या समाधानको लागि दूतावासले २४ सै घन्टा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालीको हित, विकास, सभ्यता र संस्कृतिको पक्षमा भूगोलको सीमाभन्दा माथि उठेर समर्पित हुने बताउँदै संवेदनशील भएर काम गर्न मेरा दूतावासका कर्मचारीहरुलाई सुझाव दिइसकेको उनले बताए । दूतावासका नीतिगत र व्यवहारिक विषयमा हामी सधैं नेपाली समुदायबाट साथ सल्लाह अपेक्षा गर्दै प्रभावकारी र छिटो छरितो सेवा उपलब्ध गराउन दूतावास सदा तत्पर रहने पनि उनले प्रष्ट पारे । दूतावास र नेपाली समुदायबीचमा पर्ने जुनसुकै कठिनाइलाई पनि एक आपसमा मिलेर समाधान गर्न सकिने र आपसी सहयोगको भावना कायम राखेर अघि बढ्ने बाचा रेग्मीले गरेका छन् ।

विशिष्ट अतिथि दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पनि दूतावासले आफ्नो सेवा प्रभावकारी र छिटो छरितो बनाउन प्रयास गरिरहेको र पहिलेभन्दा कुनै पनि कुरामा कमी आउन नदिने खनालले बताइन् । अति आवश्यक परे विदाको दिनमा पनि आफूहरु काम गर्न तयार रहेको पनि उनले बताइन । बेलायती नेपाली डायस्पोरा अत्यन्त परिपक्व, विविधतायुक्त र क्रियाशील भएको बताउँदै खनालले समुदायले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, साहित्य लगायत संवर्धनमा काम गरिरहेको उल्लेख गरिन ।

 

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्