सी डिभिजन लिग फुटबल आजदेखि शुरू हुँदै

सहयात्रा टिभी

काठमाडौं ।  चैत १, शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन नसकेपछि यस वर्ष आयोजना हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगमा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्न लागेको हो ।

सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।

समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्