म्यानमारमा आइतबार २१ प्रदर्शनकारीको मृत्यु, मुलुकभर ३८ जना मारिएको दाबी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०२, म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए । यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को अनुगमन समूहले आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको दाबी गरेको छ ।
सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाए । यस्तै प्रदर्शनकारीले पनि लठ्ठी र चक्कू प्रयोग गरे । चिनियाँ व्यवसायीमाथि हमलापछि सैन्य अधिकारीले क्षेत्रमा ‘मार्सल ल’ को घोषणा गरेका छन् । प्रदर्शन गरिरहेका मानिसहरु अनुसार चीनले सेनालाई समर्थन गरिरहेको छ ।
फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् । फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो । एनएलडीले अघिल्लो वर्ष भएको चुनावमा ठूलो जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धोका भएको दाबी गरेको बताएको छ ।