सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

काठमाडौं । चैत्र ०८,नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।
यहाँको ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।
विसं २०३१ देखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् । “यहाँ केही थिएन मलगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो”, मायारामले भने, “पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।” आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआई पुर्जा बनाएको उनी बताउँछन् ।
विसं २०३१ देखि बसोबास गरेको भए पनि २०५५ मा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उनीजस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । विसं २०५४ मा फिल्डबुक कायम गरी विसं २०५५ मा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो । सो समयमा विभिन्न ठाउँका करिब २०÷२५ जनाले आफ्नो नाममा पुर्जा बनाए । अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए । पुर्जा गतलरूपमा निकालेको भनेर सो समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो तर मालपोत कार्यालय आफैँले जारी गरेको पुर्जा पुनः सच्याउन नमिल्ने भनी अदालतले आदेश दिएपछि बसोबास गरेका व्यक्तिभन्दा अरुकै नाममा पुर्जा कायम भएको हो । शिवमन्दिर क, ख र ग को नक्सामा जोतभोग गर्नेभन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उनको भनाइ छ ।