थाहा छ ? तीव्र गतिले पृथ्वीको एक भाग चिसो भइरहेको छ

काठमाडौं । चैत्र १०, अर्बौं जीवको वासस्थान रहेको पृथ्वीको एक भाग अर्को भागको तुलनामा अत्यन्त छिटो चिसो भइरहेको तथ्य पत्ता लागेको छ । नर्वेस्थित ओस्लो विश्वविद्यालयले हालै गरेको एक शोधमा अफ्रिकी भूभागको तुलनामा प्रशान्त महासागरको भूभाग छिटो चिसो हुँदै गइरहेको थाहा हुन आएको छ । यस अनुसन्धानमा ४० करोड वर्षसम्मको मोडल र डाटालाई कम्प्युटरका माध्यमले अवलोकन गरिएको थियो ।
उक्त शोध हालै ‘जिओफिजिकल रिसर्च लेटर्स’ (Geophysical Research Letters) मा प्रकाशित रहेको छ । पृथ्वीभित्र एक प्रकारको रातो र तातो लेदो (रेड हट लिक्विड) पदार्थ हुन्छ जसले सम्पूर्ण ग्रहलाई भित्रबाट तातो बनाएर राख्ने काम गर्छ ।
यो तातो लेदो घुमिरहन्छ, जसले गर्दा गुरुत्वाकर्षण तथा पृथ्वीको ‘म्याग्नेटिक फिल्ड’ बन्ने गर्छ । गुरुत्वाकर्षण र ‘म्याग्नेटिक फिल्ड’का कारण जीवन प्रदायक वातावरण पृथ्वीको सतहमा बाँधिएर रहन्छ । यसको अभावमा पृथ्वीको सतहमा वातावरण रहन सक्दैन ।
वैज्ञानिकहरुको के अनुमान छ भने यो तातो लेदो धेरै लामो समयसम्म रहिरहन्छ र सेलाउँदै गएपछि विस्तारै पृथ्वी मङ्गल ग्रहजस्तो बन्नेछ । शोधमा समुद्री सतहको तुलनामा जमिनले धेरै तापक्रम रोक्ने गरेको थाहा हुन आएको छ । शोधबाट करोडौँ वर्ष पहिला कुनै समयमा प्रशान्त महासागरको भाग अहिलेको तुलनामा धेरै तातो थियो भन्ने पनि जानकारी प्राप्त भएको छ ।
स्रोत : https://www.popularmechanics.com/