नासाद्धारा विश्वको सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, अमेरिकी अन्तरीक्ष संस्था नासाले विश्वकै सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण गरेको छ । अस्तित्वमा रहेका रकेटहरुमध्ये सबैभन्दा शक्तिशाली रहेको स्पेस लन्च सिस्टम (एसएलएस) नामक रकेटलाई नासाले परीक्षण गरेको हो ।


रकेटको कोर स्टेजका इन्जिनहरुलाई आठ मिनेटभन्दा लामो समयसम्म चलाइएको थियो, सो समय भनेको उक्त रकेटलाई पृथ्वीबाट अन्तरीक्षसम्म पुग्न लाग्ने समय हो । एसएलएसको सबैभन्दा ठूलो भागको यो दोश्रो परीक्षण हो ।

यही रकेटबाट चन्द्रमामा मानिसलाई पठाउने योजना नासाको छ । अर्थात् एसएलएसमै चढेर सन् १९७२ पछि पहिलोपटक चन्द्रमामा मानिसलाई पठाइनेछ । उक्त मिसन सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवात गरेको नासाको आर्टेमिस परियोजनाको भाग रहेको बताइएको छ ।

यो रकेटमा चारवटा शक्तिशाली आरएस २५ इन्जिनहरुका साथै इन्जिनको साथमा दुईवटा बुस्टर जोडिएका छन् । अमेरिकाको मिसिसिपी स्थित स्टेन्निस स्पेस सेन्टरमा बिहीबार उक्त परीक्षण गरिएको थियो । उक्त रकेट परीक्षणका क्रममा निस्किएको धुवाँको मुस्लो निकै विशाल रहेको र उक्त मुस्लो अन्तरीक्षबाट समेत देखिएको थियो ।

नासाका अधिकारीका अनुसार रकेट परीक्षण अत्यन्तै सफल भएको छ । अमेरिकी संसदको अन्तरीक्ष तथा प्रविधि समितिले समेत परीक्षणको सफलताका लागि नासालाई बधाई दिएको छ । बिहिबारको परीक्षणमा प्रयोग गरिएको रकेटको मुख्य भाग सन् २०२१ मा तय गरिएको एसएलएसको पहिलो चन्द्र उडानमा समेत प्रयोग हुनेछ ।

परीक्षण अगाडि उक्त रकेटमा इन्जिनियरहरुले २६ लाख लिटर प्रोपेलेन्ट इन्धन भरेका थिए । प्रोपेलेन्टमा तरल हाइड्रोजन हुन्छ, जसले रकेटको इन्धनको का मगर्दछ भने इन्धन दहनका लागि तरल अक्सिजन समेत रहेको हुन्छ ।

स्रोत – बीबीसी

 

 

 

 

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्