केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फोर्ब्सको अर्बपतिको सूचीमा प्रविधि जगतकी कान्छी अर्बपति हर्ड

सहयात्रा टिभी

फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक डेटिंग एप बम्बलकी संस्थापक ह्विट्नी वल्फ हर्ड कान्छी अर्बपतिको सूचिमा सूचिकृत भएकी छन् ।

डेटिंग एप बम्बलकी संस्थापक ह्विट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी हुन् ।

अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर बम्बल संस्थापक हर्डका विषयमा उतिधेरै समाचार नआएका भए तापनि उनी समेत कार्दाशिनभन्दा कम सशक्त रोल मोडल होइनन् । किनकी ३१ वर्षकी हर्ड विश्वकै सबैभन्दा कान्छो उमेरकी र आफ्नै बलबुताले बनेकी अर्बपति हुन् ।

गत फेब्रुअरीमा बम्बल कम्पनीलाई सार्वजनिक कम्पनीको रुपमा परिणत गरेसँगै हर्ड अर्बपतिको सूचीमा उक्लिएकी हुन् । बम्बललाई सेयर बजारमा लैजाने बेला हर्ड १८ महिने छोराको आमा थिइन् ।

आफ्नो भाषणमा उनले इन्टरनेटलाई अझै प्रिय र उत्तरदायी ठाउँ बनाउन चाहेको बताएकी थिइन् ।

सन् २०१७ मा बीबीसीसँगको अन्तरवार्तामा उनले प्रभावकारी प्रमुख कार्यकारी बन्ने गुह्य काइदा भनेकै आफूलाई अति गम्भीररुपमा नलिनु नै भएको बताएकी थिइन् ।

साथै काम र व्यक्तिगत जीवनबीचमा सन्तुलन ल्याउनु, परिवारका लागि समय निकाल्नु र दिउँसो छुट्टी लिनु पनि आवश्यक रहेको उनको तर्क छ ।

अर्बपति क्लबमा उनको आरोहणको कथा रोचक छ ।

डेटिंग एप बम्बल स्थापना गर्नुअघि उनी अर्को एप टिन्डरको संस्थापक टिमकी सदस्य थिइन्। तर अन्य कार्यकारीहरुसँगको सम्बन्धमा खटपट आएसँगै उनले टिन्डर छाड्नि । रोचक त के भने उनीसँग सम्बन्ध बिग्रिएका कार्यकारीहरुमध्ये एकजनासँग त उनी प्रेम सम्बन्धमा थिइन् । त्यसको केही समयपछि उनले आफूमाथि यौनहिंसा भएको भन्दै उजुरीसमेत दिइन्।

टिन्डरको मातृ कम्पनी म्याच ग्रुपले यौनहिंसाको आरोप अस्वीकार गर्‍यो तर उक्त मुद्दा मिलाउनका लागि १० लाख डलर तिर्‍यो ।
उक्त घटनापछि उनले थुप्रै अनलाइन हिंसाको सामना गर्नुपर्‍यो र आफ्नो ट्वीटर अकाउन्टसमेत बन्द गरिन् ।

आफूले भोगेको उक्त पीडालाई सम्बोधन गर्नेगरी अन्ततः उनले यस्तो डेटिंग एप सुरु गरिन् जसको लगाम महिलाको हातमा हुन्छ । वास्तवमा बम्बल यस्तो डेटिंग एप हो जसमा आफ्नो सम्भावित पार्टनरसँग कुराकानी गर्दा केवल महिलाले मात्र कुराकानीको सुरुआत गर्न सक्दछन् ।

यो सोच सामान्य जस्तो लाग्न सक्दछ । तर डेटिंग एपमा पुरुषहरुबाट अनावश्यक मेसेजहरुको सामना गर्नु पर्ने महिलाहरुका लागि यो फिचरको महत्व थाहा हुन्छ ।

उनले रुसी अर्बपति एन्ड्रे एड्रीभको सहयोगमा बम्बलको स्थापना गरेकी थिइन् । अर्को कम्पनी बाडूमा पनि लगानी भएका एन्ड्रेले सन् २०१९ को नोभेम्बरमा बम्बल र बाडू दुवैमा रहेको आफ्नो सेयर बिक्री गरे ।

बम्बलमा संस्थापक वल्फे हर्डको ११।६ प्रतिशत सेयर रहेको छ । जसको मूल्य १ अर्ब ३० करोड डलर हुन आउँछ । उनी बाडू एपकी पनि प्रमुख हुन् । दुवै एपका गरी ४ करोड प्रयोगकर्ता छन् र तीमध्ये २४ लाख सशुल्क प्रयोगकर्ता हुन् ।

हर्ड आफूमाथि भएको हिंसाका बारेमा खुलेर बोल्ने महिला पनि हुन् । उनले एक अन्तरवार्ताका क्रममा किशोरावस्थाका बेला आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

बडी सेमिङ, हेट स्पिच तथा हिंसाजन्य अभिव्यक्तिहरुप्रति बम्बलले सख्त नीति अख्तियार गर्ने गर्दछ । पछिल्लो पटक बम्बलले जीउडालका बारेमा नकारात्मक टिप्पणी गर्ने अर्थात् बडी सेमिङको विरुद्धमा अभियान चलाएको छ । जसअन्तरगत जीउडालको स्वरुप तथा आकारप्रकारका बारेमा अपमानजन्य कुराहरुलाई बन्देज लगाइएको छ ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो वार्षिक सूचीमा संलग्न ३२८ जना महिलामध्ये हर्ड पनि एक हुन् । अघिल्लो वर्ष अर्बपतिको सूचिमा २४१ जनामात्र महिला थिए ।

विश्वका सर्वाधिक धनी महिलाको पहिलो नम्बरमा अमेरिकी अर्बपति एलिस वाल्टन छिन् जो वालमार्टकी मालिकनी मध्येकी एक हुन् भने दोश्रो नम्बरमा फ्रेन्च अर्बपति फ्रान्कोइस बिटनकोर्ट मायर्स छिन् । उनी कस्मेटिक कम्पनी लोरिएलका संस्थापककी नातिनी हुन् ।

विश्वका धनी महिलाहरुको तेश्रो नम्बरमा चाही म्याकेन्जी स्कट छिन् । उनी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी हुन् ।

बीबीसी

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्