मौसमले उत्पादनमा र कोरोनाले निकासीमा झमेला: चिया

सहयात्रा टिभी

इलाम । बैशाख २७, विगतका वर्षमा यसपटक चियाको मुनाकै राजा मानिने ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो जसबाट किसानले उल्लेखनीय आम्दानी बटुल्थे तर यसपटक भने विगत झैँ भएन ।

चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ तर यसपटक त्यो समयमा पानी नपरेपछि चिया उत्पादन ह्वात्तै घट्यो ।

चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले राससलाई जानकारी दिनुभयो ।

त्यसैगरी, उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि धेरै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि सङ्ख्या एकदमै कम रहेको सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहनुभएका कट्टेलले बताउनुभयो । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन ।

चालु आर्थिक वर्ष ०७७/०७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालु आर्थिक वर्षमा रु तीन अर्ब छ करोड आम्दानी भएको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०७६/०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट रु दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ ।

 

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्