नेपाल सुपर लिग फाइनलका लागि धनगढी र काठमाडौं भिड्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, नेपाल सुपर लिग (एनएसएल)मा आजबाट प्लेअफका खेलहरु सुरु हुँदै छ। फाइनलका लागि आज लिग चरणका शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन्।

त्यस्तै यसअघि ६ खेलमा ४ जित १ हार र १ बराबरी खेल्दै काठमाडौं १३ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै दोस्रो खेलमा भने धनगढीसँग ३–० को फराकिलो हार ब्यहोरेको थियो।

तेस्रो खेलमा पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएको काठमाडौं त्यसयता भने फर्ममा देखिएको छ। काठमाडौंले चौथो खेलमा बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्यो भने अर्को खेलमा विराटनगर सिटीमाथि ५–४ सनसनीपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो।

त्यस्तै लिगचरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोलअन्तरले हराएको थियो।

अर्कोतर्फ अट्याकिङमा राम्रो देखिएको सन्तुलित टोली हो धनगढी एफसी। विराटनगर सिटीसँग ३–० को पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई नै ३–० ले हरायो।

त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग ११ को बराबरी, चौथो खेलमा एफसी चितवनमाथि ३-० को जित, पाँचौं खेलमा पोखरा थण्डर्समाथि १–० को जित निकालेको धनगढीले अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १–० को हार ब्यहोरेको थियो।

प्लेअफको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका गोलकिपर तथा क्याप्टेन विकेश कुथुले प्लेअफका लागि आफूहरु तयार भएको भन्दै आफ्नो बेस्ट दिने बताए।

आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले ललितपुर सिटी र वुटवल लुम्बिनी एफसीबीचको विजेतसँग इलिमिनेटरमा खेल्नेछ।

धनगढी र काठमाडौंबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्