पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पार्ने पेट्रोलियम व्यवसायीको चेतावनी, सर्वसाधरण मारमा
काठमाडौं । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै पनि चासो नदिएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । पेट्रोलियम व्यवसायीले आफूहरुको मागप्रति सरकार उदासिन रहेको भन्दै आपूर्ति ठप्पा पार्न वाध्य पारेको बताएका छन् । त्यस्तै, पम्प सञ्चालकको छातासंगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि पेट्रोलियम पदार्थ बिक्री गर्दा हुने ‘प्राविधिक नोक्सानी’ सरकारले समायानुकूल समायोजन नगरेको भन्दै मंगलबारदेखि पेट्रोल र डिजेलको बिक्री पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएको छ ।
अत्यावश्यकीय वस्तुका रूपमा रहेको पेट्रोलियम पदाजर्थको बिक्रीवितरणमा बन्द तथा हडताल गर्न नपाइने व्यवस्था छ । तर ग्यास र पेट्रोलियम पदार्थ बिक्रेताले भने कानुनविपरीत गएर आपूर्ति नै ठप्प पार्ने धम्की दिएका छन् । सरकारकै निर्देशनमा अर्बौं रुपैयाँ लगानी गरी भारतमा तयार पारिएका नेपाली नम्बर प्लेटका बुलेट परिचालनमा सरकारले सहयोग नगरेको व्यवसायीको भनाइ छ ।
भारतको इन्डो(नेपाल ब्लक एलपीजी ग्यास ट्रान्सपोर्ट एसोसिएसन र नेपाल एलपीजी ग्यास उद्योगबीच एक वर्षअघि भएको सम्झौताअनुसार भारतीय बुलेटले आगामी कात्तिक १ गतेसम्म मात्रै भारतबाट नेपालसम्म ग्यास आयात गरिदिनेछ । तर ‘कात्तिक २ गतेदेखि नेपाली नम्बर प्लेटका बुलेटबाट भारतबाट ग्यास आयात गर्नुपर्ने सम्झौता भएको एलपीजी ग्यास उद्योग संघले जनाएको छ । उनिहरुले नेपाली नम्बर प्लेटको बुलेट परिचालनका विषयमा आपूर्ति मन्त्रालयदेखि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्मले कुनै चासो नदेखाएका कारण आफूहरु आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ ।