भारतमा ‘ताऊ ते’ चक्रवातको वितण्डा, १७ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ ४, अरब सागरबाट उठेको ताऊ ते नाम दिइएको चक्रवातका कारण भारतका विभिन्न क्षेत्र निकै प्रभावित भइरहेका छन् ।
कर्नाटक, केरल, महाराष्ट्र र गोवामा हुँदै अहिले यो वायुले गुजरात पुगेको भारतीय मिडियाले जनाएका छन् । यस वायुले गुजरातलाई निकै प्रभावित बनाएको छ ।
भारतीय मिडियाका अनुसार तीब्र वायुका साथै यसले गुजरातका विभिन्न जिल्लामा भारी वर्षा पनि भइरहेको छ । समुद्री तटमा उठेको छालले तटीय क्षेत्रका सहर प्रभावित भएका छन् ।
यस आँधीका कारण मंगलबार बिहानसम्म भारतका चार राज्यमा गरी १७ जनाको मृत्यु भएको छ ।
भास्कर डटकमले दिएको खरब अनुसार यस आँधीका कारण कर्नाटकमा ५ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा ८, गोवामा २ र तामिलनाडुमा २ जनाको मृत्यु भएको छ ।
रुख ढलेर, घर तथा पर्खाल ढलेर त्यसमा च्यापिएर मृत्यु भएको हो ।
अरब सागरबाट उठेको यो आँधीले गुजरात आइपुग्दा १२०० किलोमिटर भन्दा धेरै दूरी पार गरिसकेको भारतको मौसम विभागले जनाएको छ । मौसम विभागले बताए अनुसार पछिल्ला २ दशकमा अरब सागरबाट उडेको आँधी मध्ये यो आँधी सबैभन्दा धेरै दूरी पार गर्ने आँधी हो ।
यो चक्रवातको अप्रत्यक्ष असर नेपालमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण मंगलबारदेखि मौसम बदली हुने जनाइएको छ ।