एनसेलको आम्दानी १ अर्ब ५० करोड रुपैयाँले घट्यो

काठमाडौं । जेठ १२, निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी कमी भएको छ ।
एनसेलको मूख्य लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको २०२१ को पहिलो त्रैमासिकको वित्तीय बिबरणअनुसार कम्पनीको आम्दानी १ अर्ब ५० करोड ७० लाख रुपैयाँले घटेको देखिएको छ ।
त्यसैगरी एनसेलले पहिलो त्रैमासमा १० अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जबकी यस्तो आम्दानी सन् २०२० को पहिलो त्रैमासमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ रहेको थियो । कर तथा दायीत्व कट्टी गरिसकेपछिको कम्पनीको नाफा यस वर्षको सुरुवाती तीन महिनामा ७५ करोड २० लाख रुपैयाँले कम भएको बताईएको छ ।
अघिल्लो वर्ष पहिलो त्रैमासमा १ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको एनसेलको नाफा यस वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । सन् २०२० को अन्तिम त्रैमासमा कम्पनीले १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
पहिलो त्रैमासमा एनसेलको खर्चहरुमा पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिएको छ । कम्पनीको सेल्स एण्ड मार्केटिङ्ग खर्चमा झिनो वृद्धि देखिएको छ भने नेटवर्क लागतमा करिब २ प्रतिशतले बढेर १२.२ प्रतिशत पुगेको छ ।
एनसेलको आम्दानी र नाफामा कमी आउनुका साथै प्रति प्रयोगकर्ता बाट हुने आम्दानी (एआरपीयू) घटेको देखिएको छ । एनसेलले यस वर्ष पहिलो त्रैमासमा प्रति प्रयोगकर्ता बाट औषत २१८ रुपैयाँ आम्दानी गरेको छ जबकी यस्तो प्रति प्रयोगकर्ता बाट हुने आम्दानी सन् २०२० को पहिलो तैमासमा औषत २३३ रुपैयाँ थियो । यसमा कम्पनीले यस वर्षको अवधिमा करिब १५ रुपैयाँ प्रति प्रयोगकर्ता बाट हुने आम्दानी गुमाएको छ । जसको सिधा असर कम्पनीको आम्दानी र नाफामा परेको देखिन्छ ।
पोस्टपेड प्रयोगकर्ता तर्फ औषत ३०७ रुपैयाँ तथा प्रिपेडतर्फ २१६ रुपैयाँ कमाएको छ । कम्पनीका ग्राहकहरुले यस वर्ष पहिलो त्रैमासमा ६३.७ जीबी डाटा खपत गरेका थिए कम्पनीको नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ताहरु अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले बढेर ६५ प्रतिशत पुगेका छन् । एजेन्सीहरुको सहयोगमा ।