रानी ऐश्वर्यले भेट्न नमानेपछि, त्यो पुरानो दिनको सम्झना- रुबी राणा

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, म रुबी राणा, पहिलो मिस नेपाल ।

मैले पोस्ट गरेको यो तस्बिर सन् १९९५ को हो । यो तस्बिरमा म, विश्व सुन्दरी ऐश्वर्या राय र त्यतिबेलाको सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारी रहेका छौँ । त्यही बेला पेप्सीकोलामा ‘हिरक साँझ’ को आयोजना गरिएको थियो । त्यति बेला ऐश्वर्या राय पेप्सी को ब्रान्ड एम्बास्टर थिइन् । उनी नेपाल आएकी थिइन् ।

आज चित्रकार भाइले यो फोटो पठाइदिएपछि मेरो मानसपटलमा त्यो पुरानो दिनको सम्झना आएको छ ।

‘हिरक साँझ’ मा हामी कार्यक्रममा थियौँ । त्यही दिन ऐश्वर्या र मैले बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी शाहसँग दरबारमा भेट गर्ने कार्यक्रम तय भएको थियो । रानी, देशको अभिभावक, भगवानको उपनाम पाएको व्यक्तिलाई भेट्न पाउने भन्दा म फुरुङ भएको थिए । रानीसँग भेट्ने चाहाना पुरा हुने कुरामा विश्वस्त थिए ।

तर एक्कासी मलाई आयोजकबाट तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने” खबरले मनै खिन्न बनायो । म वाक भए, किन यस्तो निर्णय गरियो भनेर मनमा अनेक कुराहरू खेल्न थाले ।

“किन र ?” यही प्रश्न थियो मेरो । “खै ! थाहा भएन”, भन्ने जवाफ पाउँदा म वाक भए । “किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने ?” मनमनै खिन्न भावनाले मलाई खादै थियो।

म पनि वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनक जङ्ग बहादुर राणा र कमला देवी राणाको पक्कै राजकुमारी थिए र त्यस्को साथै नेपालको प्रथम नेपाल सुन्दरी पनि थिए । आजको दिनसम्म पनि रानीले किन भेट्न नमान्नु भएको होला भनेर मनमा खड्किरहन्छ ।

म पनि राणाको छोरी नै थिए, त्यही भएर पनि तर्किनु भएको हो कि भनेर मनमा खड्किरहन्छ । मलाई त मेरो रानीलाई साक्षात् दर्शन गर्नु थियो। ‘उकाली ओराली ‘गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो। रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो । काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो।

कमल कोपिलाजस्तो हातमा लगाएका चुराहरु घन्केको आवाज सुन्नु थियो। जति मैले मेरो रानीलाई चिनेको थिए विश्व सुन्दरीले के चिनेकी थिईन होला ? मलाई किन भेटवार्ताबाट बञ्चित गरिएको होला ? आज पनि यही प्रश्नहरूले मनमा डेरा जमाइरहन्छ तर उत्तर पाउने आशा त छैन ।

हो पाहुना ईश्वर हुन् । ऐश्वर्या पनि हाम्रो देशको पाहुना थिइन्, उनलाई म सधैँ सम्मान गर्छु तर म ? म पनि त देशको छोरी थिए ।

त्यति बेला ऐश्वर्याको अगाडि रानीले मलाई अपहेलित गरे जस्तो लाग्यो । माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो भावनाले मलाई मेरो ताजको महत्त्व र चमक धमिलो लाग्न थाल्यो। मनमा अनेकौँ प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आसुका धारले रानी प्रतिको मायालाई पखाल्दै गयो। मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागे। यो मेरो मनको बह मात्र हो भनेर मनलाई सम्झाए ।

यही दृढ सङ्कल्पका साथ म आफै खुसी रहे म आफ्नो मनको रानी बन्न सक्छु, मनको रानी,धनको रानी हैन भनेर आफूले आफैँलाई सम्हाले ।

त्यो तस्बिर हो ऐश्वर्य रायले बडा महारानीलाई भेटेर आए पछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियौ। कालो चिल्लो मर्सिडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चढेर हामी प्रधानमन्त्री निवास जादैँ थियौँ ।

बाटोमा विश्व सुन्दरीले अङ्ग्रेजीमा बडा महारानीको खुबै बयान गर्दै थिइन् र म सुनी रहेको थिए, केही नबोली, मेरो मनको पीडा र डाहले मन पोल्दै थियो । एक शब्द केही नबोली मैले कुनै प्रतिक्रिया जनाइन।

“आर यू ओके ?” भनेर पनि सोधिन् विश्व सुन्दरीले, मैले मुन्टो मात्र हलाएर जवाफ दिए।

तर जब मैले प्रधानमन्त्री ज्यु र उहाँको श्रीमती लाई भेटे तब मेरो मूड परिवर्तन भो। अति सरल र मिजासिलो । उहाँको श्रीमतीले गरेको आदर सत्कार र कुराकानीले मलाई अति नै प्रफुल्लित बनायो। अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो।

उहाँले भन्नुभयो, हामी देश बासीहरू एकदमै खुसी छौ तिमि लाई नेपाल सुन्दरी देख्न पाउँदा। नेपालको यो प्रथम प्रयास हो। निरन्तरता जारी रहोस् !”

पछाडि बाट मधुरो स्वरमा ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहेछिन्” प्रधानमन्त्रीज्यूको श्रीमतीले भन्नुहुँदा सबैजना खित्का छाडेर हासेका थियौं।

सम्झनाका कुराहरू जुन मैले व्यक्त गरे यो एउटा मनमा बिझेको काडा जस्तो थियो। जुन आज निकालेर हजुर समक्ष पेस गर्दैछु र पनि मेरो मनको रानीले बडा महारानी ऐश्वर्यलाई सधैँ खोजी रह्यो। भाग्यमा भेट्ने थिएन होला र पो भेट भएन भनेर मेरो मनको रानीले मलाई बेला बेला सम्झाउँछे !

स्रोत: पहिलो मिस नेपाल रुबी राणाको फेसबुकबाट

 

 

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्