एप्पलको पहिलो एआर हेडसेट सन् २०२२ मा सार्वजनिक

काठमाडौं । जेठ २७, करिब दश वर्षभन्दा लामो समय एआर र भिआर टेक्नोलोजीमा अनुसन्धान गरिरहेको एप्पलले अर्को वर्ष आफ्नो पहिलो एआर/भिआर हेडसेट सार्वजनिक गर्ने हल्ला चलेको छ।
एप्पलका विश्लेषक मिङ–ची कुओले एप्पलको एआर हेडसेट सन् २०२२ को दोस्रो त्रैमासिकतिर आउने बताएका हुन्।
त्यस्तैगरी एआररभिआर हेडसेटबाट मोबाइल वा कम्प्यूटरमा हेरिने कुरा आफ्नै आँखाअघि वास्तविक दुनियाँमा देख्न सकिन्छ भने यो उपकरणले टेक्नोलोजी र वास्तविक संसारलाई जोड्ने काम गर्छ।
यसमा दुईवटा हाइरिजोलुसन ८के डिस्प्ले र आइ डिटेक्टिङ क्यामरा हुनेछ। आइ डिटेक्टिङ क्यामराबाट प्रयोगकर्ताले साना अक्षर पढ्न र भर्चुअल वस्तुका अगाडि वा पछाडि उभिरहेका अन्य व्यक्तिलाई हेर्न सक्छन्।
त्यसैगरी यसमा प्रयोग भएको डिस्प्ले र चिप गत वर्ष सार्वजनिक भएको म्याकभन्दा उच्च गुणस्तरको छ भने प्रयोगकर्तालाई भर्चुअल दुनियाँको अनुभव दिनको लागि एप्पलले एआर हेडसेटमा १५ वटा क्यामरा प्रयोग गरेको म्याकरुमरले लेखेको छ।
यो एआर हेडसेटको तौल करिब ३०० ग्रामको हुनेछ। प्रयोगकर्ताले यसलाई आफ्नो कम्प्यूटर वा ल्यापटपमा जडान गरेर चलाउन सक्नेछन्। यसको पोर्टेबल संस्करण भने सन् २०२५ तिर सार्वजनिक हुने अनुमान रहेको छ। एजेन्सीहरुको साथमा ।