अपराधीलाई निकै रोचक तथा अनौठो खालका सजाय

काठमाडौं । साउन ६, संसारका हरेक देशमा कुनै पनि अपराधीलाई उसको अपराधका लागि कानून बमोजिम सजाय दिइन्छ ।
अपराधीको अभियोग ठहर भएसँगै जेल सजाय र जरिमाना पनि हुन्छ । कतिपय मुलुक तथा ठाउँहरुमा भने यस्ता अनौठो खाले कानून हुन्छन् जसले अपराधीलाई निकै रोचक खालका सजाय दिन्छन् ।
स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकका बुवा आमाले उसलाई पकेट मनी दिन छाडेपछि उक्त युवक अदालतमा आएर बुवाआमा विरुद्ध मुद्दा हाले तर अदालतले ती युवकलाई उल्टै सजाय सुनाइदियो । फैसलामा ती युवकलाई ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नै खुट्टामा उभिन आदेश दिइएको थियो ।
त्यस्तैगरी सन् २००३ मा अमेरिकाको शिकागोमा बस्ने दुईजना युवकहरुले क्रिसमसको बेलुकी चर्चबाट यशुको मूर्ति चोरे । उक्त अपराधमा दोषी ठहर भएपछि ती दुवै युवकलाई ४५ दिनको जेल सजायका साथै आफ्नो गृहनगरमा एक गधासँग मार्चपास गर्ने आदेश पनि दिइएको थियो ।
त्यस्तैगरी अमेरिकाको ओक्लाहोमामा बस्ने १७ वर्षका टाइलर एलरेडद्धारा मदिरा सेवन गरेर गाडी चलाएका कारण भएको दुर्घटनामा उनका एकजना साथीको मृत्यु भयो । उक्त समयमा हाइस्कूलमा पढ्ने टाइलरलाई अदालतले हाइस्कूल तथा ग्राजुएसन सक्नैपर्ने, वर्षभरि नै लागू औषध, मदिरा र निकोटिन परीक्षण गर्नुपर्ने तथा १० वर्षसम्म चर्च जानैपर्ने सजाय सुनायो ।
अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरी नामका व्यक्तिले सयौँ हरिणको सिकार गरेकोले अदालतले उनलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तिमा एक पटक डिज्नीको बम्बी कार्टुन हेर्नुपर्ने सजाय सुनाएको थियो ।
एजेन्सीको सहयातामा