काठमाडौँको फोहोर व्यवस्थापन गर्न सकिन्छ !

सधैं जहिल्यै समस्याको रुपमा देखिएको फोहोरमैला व्यवस्थापन प्रक्रियालाई सुधार्ने हो भने सबैभन्दा पहिला माथिल्लो निकायमा पदासिनको इच्छाशक्ति हुनुपर्छ । माथिल्लो निकाय यानि जननिर्वाचित पदाधिकारीहरु, स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतलगायत लेखा तथा प्रविधिक कर्मचारीहरु पर्दछन् ।
त्यससँगै केन्द्रीय सरकारअन्तर्गतका मन्त्रालयका उच्च तहका सचिव, सहसचिव, उपसचिवहरु पर्छन् । यदि तिनीहरू सबैले थोरै समयमात्र दिएर छलफल र विचार बिमर्शमात्र गरे पनि शहरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन सम्भव छ । अहिले जस्तो धेरै रोइकराई गर्नै पर्दैन। यसको मतलब तपाईलाई लाग्न सक्छ के उहाँहरु साँच्चीकै संवेदनशील हुनुहुन्छ त फोहर व्यवस्थापन गर्न ?
दुई दशक लामो मेरो अनुभवमा यहाँ केही दिन फोहर फाल्ने ठाउँ सिसडोलमा फाल्न पाएन भने काठमाडौँ शहर दुर्गन्धित हुन्छ र अनि मात्र फोहर व्यवथापन गर्नुपर्ने भन्दै जागिन्छ । अरुबेला मतलब दिइन्न । कसैको सोँचको विष नै हुँदैन । यहाँ त हामी स्थानीय सम्बन्धित विभागीय प्रमुखलाई कुरा राख्छौ, विभागीय प्रमुखले कुरा बुझी आवश्यकता महसुस गरी टिप्पणी उठाई माथिल्लो निकायमा पठाउँदा पठाउँदै ती कागजजात गायब भइदिन्छ । कता थन्किन्छ ठेगान हुन्न । त्यसपछि न त्यसको जानकारी दिइन्छ न त जानकारी दिनुपर्ने कुनै आभास नै हुन्छ । वास्तवमा भन्ने हो भने स्थानीय स्तरमा उत्पादन हुने फोहोर व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय निकाय नै हो ।
नेपालमा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेबमोजिम नगरपालिका बन्नकै लागि पनि कमसेकम स्थानीय तहले फोहर व्यवथापन र त्यसका लागि आवश्यक पूर्वाधार तय गरेको हुनुपर्ने उल्लेख गरेको छ । तर अधिकांश नगरपालिका, उपमाहानगरपलिका र महानगरपालिकामा त्यसको व्यवस्था भएको देखिदैन । न त फोहर व्यवथापन उचित तवरले भएको छ न व्यवस्थापनका लागि चाहिने पूर्वाधार नै ? थोरै स्थानीय तहले केही चरणमा सुरु गरेको थिए । तर त्यो पर्याप्त भने भउको छैन ।
हामी सबैलाई लाग्छ, यदि शहर सफा भयो भने, राम्रो स्वच्छ देखिन्छ, त्यसपछि अन्य विकासको काम पनि प्रस्ट रुपमा देखिन्छ । विडम्बना देशमा जति पनि फोहरमैला व्यवस्थापन गर्ने भनेर काम गरिन्छ । अधिकांश काम अपुरो भइदिन्छ, क्षणिका समयका लागि गरिन्छ । वा भनौं टालटुलेमात्र गरिन्छ । त्यो पनि केही समयमा अवशेष पनि रहन्न । यो कुनै पैसा बजेट अभावमा भन्दा पनि बृहत्तर योजनामै ठूलो कमी हो । बनाइएको योजना कि त अपुरो हुन्छ कि त थोर बहुत समयका लागि केन्द्रित भई झारा टार्ने उद्देश्यले तयार परिन्छ ।
कुनै नगरपालिकाले शुरुवात गर्दा यो गर्ने र त्यो गर्ने भन्छन् । कामको बीचमा पुगेपछि रोकिन्छ । किनकि त्यसपछि के गर्ने भन्ने बुझेकै हुँदैन वा बुझेको अवस्थामा पनि व्यवस्थापन गर्ने क्षमता अभावले बाधा अल्झन, कठिनाई उत्पन्न भइहाल्छ । यसले गर्दा समयमा आवश्यक समन्वय र तालमेल अभाव टड्कारो रुपमा देखिन्छ र काम त्यहीँ तुहिन्छ ।
फोहर व्यस्थापनलाई कसरी बुझ्ने ?
फोहरबाट मोहर बन्ने भन्दै गर्दा, शहरमा खाली फोहर उठाएर मोहोर कमाउने संस्था तथा कम्पनीहरु धेरै मात्रामा बढेको देखिन्छ । उनीहरु न प्रविधियुक्त व्यवस्थापन गर्ने योजनामा छन् न सम्बन्धित निकायले नै नियमन गरिएको हुन्छ । कम्पनी एेनअन्तर्गत रहेर नाफामूलक कम्पनी वा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सामाजिक संस्थाको रुपमा सामेल भई फोहर व्यवस्थापन गर्ने भन्दै फोहर संकलन गर्छन् ।
फोहर व्यवस्थापन भनेको घरघरबाट उठाउने र डम्पिङ साइट पुर्याएर फाल्ने काम हो भनी बुझ्ने गरिएको छ । यो पटक्कै होइन । त्यसैले न त उसलाई शहर सफा, स्वच्छ र वातावरणमैत्री क्रियाकलापसँग मतलब छ न फोहरको पुनः प्रशोधनबारे जानकारी लिइन्छ ।
हाम्रा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि आफ्नो वडा र शहर सफा भएको हेर्न मनमात्र छ, फोहर उठाएर लागिसकेपछि कता के गर्दैछ भन्नेमा थोरैले मात्र चासो राखेको देखिन्छ । जबकी फोहर व्यवस्थापनमा यसको उत्पादनदेखि अन्तिम बिसर्जनसम्मको काम अति महत्वपूर्ण छ ।
विश्वको जुनसुकै कुनामा गए पनि फोहर व्यवस्थापनको कुरा गर्दा सबैभन्दा पहिलो धेय फोहर उत्पादन नै नगर्ने हो । उत्पादन भए पनि कममात्र उत्पादन गर्ने वा गर्न लगाउने हो । यससम्बन्धी जानकारी जनमानसमा फैलाउनु पर्ने काम निकै महत्त्वपूर्ण छ । कम उत्पादन हुँदा पनि वर्गीकरण गरी संकलन गर्ने हो ।
शहरिया बासिन्दा आफू बस्ने स्थान सानो ठाउँमा भएकाले अधिकांशले छुट्याउने काम सम्भव छैन भनेर सबै फोहर मिसाएर राख्ने गरेको पाइन्छ तर इच्छा भए, घरमै कुहिने र नकुहिने गरी अलग भाडोमा राखेर नकुहिने बस्तुहरु बोरा वा त्यही प्लाष्टिकमा प्याक गरी राख्न सकिन्छ । यसरी जम्मा गरेको नकुहिने बस्तुहरु राख्दा यदि वर्ष दिनसम्म पनि फोहर संकलन गर्न नआए कुनै चिन्ता लिनुपर्दैन । केही कवाडीलाई बेच्न सकिन्छ र केही पुनः प्रयोग गर्न पनि सकिन्छ ।
कुहिने वस्तुहरुको लागि घरमै राम्रोसँग गन्धराहित स्वस्थ तरिकाले कम्पोस्ट मल बनाउने बिभिन्न प्रविधिहरु छन् । उचित खालको प्वाल प्वाल परेको हावा आवतजावत गर्ने कम्पोस्ट बिन प्रयोग गरेर, गड्यौला पालेर, वा बायो ग्यास उत्पादन गर्ने प्रविधि छ जसले अझ घरमा उत्पादन हुने ग्यास पनि कम गराउँछ ।
यसरी घरमै मल उत्पादन हुँदा घरको गमला, कौसी खेती गर्न सहज भई मनग्य फाइदा लिन सकिन्छ । र, नकुहिने वस्तुहरुमा बिक्री गर्न मिल्ने कवाडीको रुपमा बिक्रीवितरण गर्न सकिन्छ र बाँकी फोहरमात्र फोहर संकलकलाई दिने । यदि सबै उपत्यकावासीले यसो गरेमा आज हामी फोहर व्यवस्थापनमा सक्षम भै अन्य विकासका लक्षहरु पहिल्याउने थियौं।
फोहर व्यवस्थापन प्रविधि कस्तो अपनाउने ?
हाम्रोजस्तो मुलुकमा कम खर्चको लागतमा तयार हुने वातावरणमैत्री प्रबिधि अपनाई फोहर व्यवस्थापन गर्नु नै उत्तम उपाय हो । यो भनेको फोहरलाई श्रोतमै छुट्याई संकलन गर्ने हो । फोहर उत्पादन नै कम गर्ने उपाएको अवलम्बन गर्नेलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। उत्पादित फोहरलाई कुहिने (भिजेको फोहर) र नकुहिने ( सुख्खा फोहर) संकलन गर्ने र त्यसको छुट्टै ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । सकभर घरमै व्यवस्थापन गर्न प्रोत्साहन गर्न दिनुपर्छ ।
घरबाट निस्किने फोहोरमा सबैभन्दा बढी (जम्मा उत्पादनको लगभग ६० प्रतिशतजति) कुहिने वस्तु नै आउँछ र त्यसलाई माथि भनेको जस्तै आफैं व्यवस्थापन गर्न सकिने प्रविधि छ । नकुहिने वस्तुहरुमा बढीमात्रामा प्लाष्टिक, रबर, धातु, शिशा र बहुमिलन भएका वस्तुहरु जस्तै स्ताइरोफोम, डाइपर, स्यानिटरी प्याड, टेत्राप्याक आदि यी सबै स्टोर गर्ने र विक्री गर्न मिल्ने बेचेर केही आम्दानी पनि हुन्छ र फोहर उत्पादन पनि श्रोतमै घट्छ । बिक्री गर्न नमिल्नेलाइ मात्र नगरपालिकाले व्यवस्था गरेको फोहर संकलकलाई दिने हो ।
फोहरमैला व्यवस्थापन एेन २०६८ र नियमावली २०७१ अनुसार फोहरमैला व्यस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहहरुलाई बनाएको छ । यिनीहरु आफैंले वा आवश्यक भएमा कुनै निजी संस्था वा सामुदायिक संस्था, जसको सक्षम छ उसैलाई बिभिन्न काम कार्य तोकी फोहर व्यवस्थापन गर्न दिने अधिकार दिएको छ ।
तर नगरपालिकामा आवश्यक फोहर व्यवस्थापनको गुरुयोजना र बृहत्तर योजनाको अभाव अनि सीमित ज्ञानले गर्दा सम्झौता गरिएका कतिपय काम पनि अधुरो भएको र उचित व्यवस्थापनतर्फ बढेको देखिँदैन। त्यसमाथि काठमाडौँ उपत्यकामा बिगतको दशकमा नेपाल सरकार, फोहरमैला वव्यवस्थापन तथा प्राबिधिक श्रोत केन्द्रमार्फत अन्तर्राष्ट्रिय स्तरको टेण्डर आव्हान गरी छनौटमा परेका कम्पनीको निक्यौल गर्न नसक्दा न स्थानीय तहहरुले कसैलाई फोहर व्यवस्थापन औपचारिक रुपमा गर्न दिन सके न त आफैंले गर्न सके ।
यो दीर्घकालीन सोचमा नेपाल सरकार, मन्त्रिपरिषदबाट पारित गरी एकीकृत फोहरमैला व्यवस्थापनका लागि छनौटमा परेका कम्पनीलाई नेपाल सरकारको लगानी बोर्डमार्फत धेरै पटक छलफल गरी सम्झौता गर्ने अन्तिम रुपमा पुगेकोलाई पनि उपत्यकाको स्थानीय सरकारले सो कम्पनीलाई जिम्मा दिने वा नदिने भन्ने निर्णय गर्न नसकेको कारण आज काठमाडौँमा बैधानिक रुपमा फोहर व्यवथापनको काम अघि बढ्नन सकेको छैन ।
यसमा खाली जसोतसो अनौपचारिक रुपमा फोहर संकलन गर्दै आएकाले आफूखुसी केही क्षेत्र ओगटेर फोहर संकलन र सिसडोलमा लागि फाल्ने काम गर्दै आएका छन् । महानगरपालिकाले पनि निजी क्षेत्रले गर्न नसकेको क्षेत्र, जहाँ फोहर उठाएबापत पैसा असुल्न कठिन छ । विशेषगरी कोर एरियामा, त्यतामात्र सीमित भएर बाटोमा फाल्ने गरेको फोहर उठाउने र सिसडोल लगेर फाल्ने काम गरिरहेको छ ।
दशकौ भइसक्दा पनि तिनीहरुले न आफ्नो कार्य क्षमता वृद्धि गर्न सकेका छन् न त निजी क्षेत्रलाई वैधानिक रुपमा काम गर्न दिएको छ । पूरै अलमलमै दिन गुजार्दै छ एक दशकभन्दा बढी समय । बेला बेलामा सिसडोल क्षेत्रका बासिन्दाले विरोध गर्छन्, र त्यसलाई टालटुले सम्झौता गर्छन् । फेरि पनि फोहर फाल्ने समस्या जहाँको त्यहीँ रहन्छ ।
जिम्मेवार निकायले ठोस योजना बनाई अगाडि नबडेकोले र उचित निर्णय गर्नेमा ढिलाई हुँदा न भएका कर्मचारीले राम्ररी काम गर्न सकेको अवस्था छ न त निजी क्षेत्रले नै लगानी गरी राम्रोसंग काम गर्न सकेका छन् । शहर सफा देख्ने राजधानीवासीको सपना जहिले अधुरै छ ।
धुलोमैलोमै बस्न बाद्य बनाएको अवस्था छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने त भइहाल्यो र ठाउँ ठाउमा खुलेका अस्पताल, स्वास्थ्य केन्द्रहरुले बिरामी बढेकोले उपचार गर्ने र राम्रो आम्दानी गर्दै सेवा दिन थालेको देखिन्छ । जुन हामी स्वस्थ भई बाच्नुको सट्टा उल्टो बिरामी भई उपचार गरी जीवन व्यतित गर्दैछौ ।
दीर्घकालीन फोहर व्यवस्थापन कसरी गर्ने ?
महानगरसँग राम्रोसँग काम गर्ने तीनवटा राम्रा उपाय छन्ः
पहिलो, स्थानीय सरकार आफैले यदि सक्षमता प्रदर्शन गरी आफ्नै श्रोत साधनमा वृद्धि गरी हाल भैरहेको फोहर व्यवस्थापन प्रविधिलाई परिमार्जन गर्ने । महानगरपालिकाले निश्चित स्थानमा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्न सकिन्छ । कुहिने बस्तुलाई टेकुस्थित हाल स्थापना गरिएको बायो ग्यास प्लान्टलाई नियमित संचालन गर्ने र सँगै कम्पोस्ट मन बनाउने प्लान्ट निर्माण गर्ने । सो स्थानमा बाहिरबाट नदेखिने गरी, मेसिनहरुको प्रयोग गरी कम्पोस्ट मल उत्पादन गर्ने ।
यस्तो खालको हावा जाने प्रविधिको मल बनाउने कारखानाको रुपमा बिकास गर्दा वरपर गन्ध रहित भई राम्रो गुणस्तरयुक्त मल उत्पादन गर्न सकिन्छ । सँगैको बाकी स्थानलाई नकुहिने बस्तुहरुको पुनः वर्गीकरण गरिने स्थान बनाई बढीभन्दा बढी काम लाग्ने पुनः प्रयोगजन्य वस्तु निकाल्ने र बिक्री वितरण गर्न सकिन्थ्यो । त्यसपछि बाँकी रहेको फोहरमात्र ल्यान्डफिल साइटमा लगेर व्यवस्थापन गर्ने । यो सबैभन्दा उत्तम उपाय हो । आवश्यक मानव श्रोत साधन तय गर्ने, प्रविधिको तय महानगरपालिका आफैंले गर्न सक्छ । यसका लागि व्यवस्थापन गर्न जान्ने केही दक्ष कर्मचारीको मात्र आवश्ककता पर्दछ ।
दोस्रो, महानगरपालिकाले विद्यमान अन्तर्राष्ट्रिय टेण्डरमार्फत छनौट गरिएका कम्पनीलाई सम्झौता गरी ब्यवस्थाथित गर्ने भनिएको कार्ययोजनालाई पारित गर्ने र काम गर्न दिने । कुनै बखत आवश्यक परेको बेला महानगरपालिकालगायत अन्य नगरपालिकाहरुले समन्वय गरी निरीक्षण गर्ने हो । यसरी सम्झौता गरी अगाडि बढ्दा स्थानीय तहलाई पनि धेरै फाइदा हुन्छ ।
तेस्रो, महानगरपालिकाले हाल छनौट भएका कम्पनी र टेन्डरलाई बदर गरी नयाँ टेन्डर खोल्ने र निश्चित स्थान तथा वडाहरूलाई मिलाएर ६/७ क्षेत्रमा बाड्ने र ती क्षेत्रहरुमा सम्बन्धित रही काम गर्ने सक्षम कम्पनीहरुलाई सम्झौता गरी काम अघि बढाउने । यसरी काम गर्दा निजी संस्थाले आफ्नै प्रशोधन स्थल बनाउनुपर्ने, कुहिनेलाई शहरमै व्यवस्थापन गर्नुपर्ने, नकुहिनेमा पनि पुनःप्रशोधनमा पठाउने र बाँकी फोहरमात्र ल्यान्डफिल साइटमा पठाउने जस्ता काम गरिनुपर्छ । महानगरले पनि केही क्षेत्रमा आफैले छुट्याई काम गर्दै जाने ।
यसरी काम गर्न दिँदा फोहर व्यवथापन गर्न आवश्कक पर्ने स्थान तथा फोहर वर्गीकरण तथा प्रशोधन गर्ने स्थानको लागि व्यवस्थापन आफै वा समझदारीमा गर्ने, स्मार्ट प्रविधिहरुको अनुसरण गर्ने र कम्पोस्ट मल बनाउने, प्रसोधन गर्ने र थोरै फोहरमात्र ल्यान्डफिलमा व्यवस्थापन गर्ने खालको नीति नियम बनाई लागू गर्ने । महानगरपालिकासँग हाल भएको श्रोतसाधन तथा मानव श्रोतलाई अन्तको बिकास निर्माण कार्यमा लगाउने जस्ता तरिकाले व्यवस्थापन गर्न सकिन्छ ।
यो तीन उपायमध्ये जुनसुकै अपनाई फोहर स्रोतमै छुट्याउनेलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । त्यससँगै छुट्टै संकलन गर्ने व्यवस्था, समयमा संकलन, समयमा ढुवानी, पुन बर्गीकरण गर्ने स्थानको उचित व्यवस्थापन, र बिक्रि वितरण तथा बाँकीको पुनः प्रसोधन गर्न नसकेको बस्तुहरुको लागि मात्र ल्यान्डफिल साइट पुर्याउने व्यवस्था गरेको भए ल्यान्डफिल साइटको आयु पनि बढ्न जानेछ ।
काठमाडौँ उपत्यकाको फोहर व्यवथापनमा हालसम्म कार्यरत ८० भन्दा बढी निजी संघ संस्थाहरु जसले अहिले पनि घरघर पुगेर फोहर संकलन गर्दैछ तिनीहरुलाई मात्र आधिकारिक रुपमा व्यवस्थापन गर्न दिने भए पनि आजको जस्तो सडकमा फोहर थुप्रिने र व्यवस्थित नभएको अवस्था हुने थिएन । ती संस्थालाई दीर्घकालीन रुपमा (कम्तीमा १५ वर्षक लागि) काम गर्ने सम्झौता गरेको भए तिनीहरुले पनि ढुक्क भएर लगानी गर्ने, र प्रविधिहरु भित्र्याई पुनः प्रसोधनका कामह गर्ने वातावरण हुने थियो ।
नविन, प्राबिधिक सल्लाहकार, फोहरमैला व्यवस्थापन संघ नेपाल तथा सहसंस्थापक प्रमुख कार्यकारी अधिकृत, ब्लु वेस्ट टु भ्यालु हुनुहुन्छ ।