तपाई दिनमा कति कप कफी पिउनु हुन्छ ?
काठमाडौं । साउन १२, धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन लाग्दैन । अनुसन्धानहरुमा सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगेको छ ।
कफी पिउनुका आफ्नै फाइदारबेफाइदा छन् । तर, हालै भएको एक अनुसन्धानले भने कफी पारखीलाई एकपटक सोच्न बाध्य बनाएको छ ।
अस्ट्रेलियाका वैज्ञानिकका अनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउनाले यसको सिधै असर मष्तिष्कमा पर्ने देखिएको छ । फलस्वरुप यसले डिमेन्सिया (बिर्सिने रोग) हुने खतरा ५८ प्रतिशत हुनेसँगै स्ट्रोकको पनि खतरा देखिएको छ ।
यसरी हुन्छ कफि हानीकारक:
कफीमा पाइने क्याफिन नामक तत्वले सिधै हाम्रो दिमागको नर्भस सिस्टममा असर पार्छ । यसैको असरका कारण कफी पिएपछि ‘रिल्याक्स्ड’ महसुश हुन्छ ।
यदि यसको मात्रा चाहिने भन्दा बढी भएमा क्याफिनले दिमागमा नकारात्मक असर छोड्न थाल्छ ।
कफी पिइरहेको समयमा त्यहाँ भएको क्याफिन रगत हुँदै पूरै शरीरमा फैलिन्छ । जसकारण यसको असर सजिलै दिमागमा पर्छ ।
तर, असर परे पनि हामीलाई थकान महशुस हुँदैन । किनभने क्याफिनले दिमागको ‘एडिनोसिन’ नाम गरेको न्यूरोट्रान्स्मिटरलाई ब्लक गर्दिन्छ ।
एडिनोसिनले नै हामीलाई थकान महसुश गराउँछ ।
कफी पिउनुका फाइदाः
एउटा अध्ययनले दिनको दुईपटक कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ ।
ब्रिटिस मेडिकल जर्नलमा छापिएको उक्त अध्ययन प्रतिवेदनका अनुसार कफीका कारण कलेजो सम्बन्धी रोग, क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ ।
कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ ।