अफगानिस्तानमा हजार बढी नेपालीहरु तनावग्रस्त

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका सबैजसो मुख्य सहर कब्जामा लिएको छ।

आइतबार बिहान तालिबानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एसोसिएट प्रेस (एपी) ले जनाएको छ।

त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्दार थालेका छन्।

अमेरिका, बेलायत, जर्मनी भारत लगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका छन्। तर नेपाल सरकारले भने त्यहाँ कार्यरत नेपालीको उद्दारको कुनै ठोस योजना र तयारी तय गरेको छैन। त्याहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक नभए पनि हजारको संख्यामा रहेको अनुमान गरीएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालका अनुसार हालसम्म अफगानिस्तानमा रहेका नेपालीहरू सुरक्षित छन्। मन्त्रालयले त्यहाँको अवस्था नजिकबाट नियालिरहेको भन्दै उनले नेपालीहरूको सुरक्षाका लागि विशेष जोड दिएको बताइन्।

संयुक्त राष्ट्र संघमा कार्यरत नेपालीहरूको सुरक्षाका लागि संघसँग लबिङ गरिरहेको पनि उनले जानकारी दिइन्। तर परराष्ट्र स्रोतले भने परराष्ट्रमन्त्री नहुँदा अप्ठ्यारो परेका नेपालीहरूको उद्दार तत्परता नभएको जनाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तान कार्यालय सहयोगी, चालक, सुरक्षा गार्ड लगायत क्षेत्रका साथै युरोपेली युनियन, राष्ट्रसंघ, विश्व बैंक, बेलायती दूतावास, अमेरिकी दूतावास लगायत संघसंस्थामा नेपाली कार्यरत छन्। एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्